अविरल वर्षासँगैको बाढीपहिरो र डुबानका कारण देशभरको जनजीवन प्रभावित बनेको छ । निरन्तरको वर्षाका कारण उत्पन्न हुन सक्ने विपतका प्रतिकार्यका लागि सरकारले सम्पूर्ण संयन्त्र तयारी अवस्थामा राखेको छ ।
सम्भावित जोखिमलाई ध्यानमा राखी खोज तथा उद्धारसँग राहत र पुनस्र्थापनाका लागि नेपाली सेनाका विशेष उद्धारक टोली हवाई साधनसहित काठमाडौँ, चितवन, इटहरी, सुर्खेत, धनगढीलगायतका स्थानमा तयारी अवस्थामा राखिएको छ । त्यस्तै नेपाल प्रहरी, सशस्त्र प्रहरीबलका तालिमप्राप्त विपत् प्रतिकार्य टोलीलाई समेत उच्च सतर्कतासहित देशभर परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सूचना अधिकारी रवीन्द्र आचार्यले सम्भावित जोखिम न्यूनीकरणका लागि सम्पूर्ण सरकारी संयन्त्रलाई पूर्वतयारी अवस्थामा राखिएको बताउनुभयो । अविरल वर्षासँगै सम्भावित जोखिम न्यूनीकरणका लागि अधिकांश राजमार्ग बन्द गरिएको छ । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म निरन्तर अविरल तथा अधिकतम वर्षा पूर्वानुमान गरेसँगै सम्भावित प्राकृतिक प्रकोपबाट हुन सक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि सरकारले अधिकतम प्रयत्न गरिरहेको छ ।
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी तीन दिनसम्म काठमाडौँ उपत्यका भित्रिने र बाहिरिनेलगायत लामो दुरीका सवारी आवतजावतमा रोक लगाएको छ । प्राधिकरणले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै जिल्लाबाट चल्ने लामो दुरीका तथा काठमाडौँ उपत्यका भित्रिने/बाहिरिने सवारीसाधन आवतजावत तीन दिन बन्द गरिएको सूचना जारी गरेको हो ।
प्राधिकरणका प्रवक्ता शान्ति महतले यही असोज १८, १९ र २० गतेसम्म काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने र देशभरका लामो दुरीका सवारी बन्द गरिएको बताउनुभयो । प्राधिकरणको निर्देशनलगत्तै नेपाल प्रहरीले काठमाडौँबाट बाहिरिने मुख्य नाकालगायत देशभरका मुख्य स्थानमा माइकिङ गर्दै अत्यावश्यकबाहेक आवतजावत नगर्न आग्रह गरेको छ ।
यातायात व्यवसायीलगायत कसैले पनि अत्यावश्यकबाहेकका सवारीसाधन नचलाउन र त्यसको कडा अनुगमन गर्न सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायलाई गृह मन्त्रालयले निर्देशन जारी गरेको छ । प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान अवतरणसमेत बन्द गरिएको छ । काठमाडौँ उपत्यका प्रवेश गर्ने राजमार्गसँगै हवाई उडानसमेत बन्द भएका कारण यात्रु समस्यामा परेका छन् ।











