ललितपुर, गोदावरी — गोदावरी नगरपालिकाले नेपाल प्रहरीलाई तीनवटा मोटरसाइकलसहित १७ प्रकारका विपद् व्यवस्थापन सामग्री हस्तान्तरण गरेको छ । भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा आगलागीबाट क्षति पुगेका प्रहरी कार्यालयहरूलाई पुनः सञ्चालनमा सहयोग पु-याउने उद्देश्यले उक्त सामग्री हस्तान्तरण गरिएको हो ।
नगरप्रमुख गजेन्द्र महर्जनले प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेको उपस्थितिमा ललितपुर जिल्ला प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) होविन्द्र बोगटीलाई सामग्री हस्तान्तरण गरे ।
कार्यक्रममा बोल्दै नगरप्रमुख महर्जनले भने, “शान्ति र सुरक्षा स्थायी विकासका मूल आधार हुन् । प्रहरी, समुदाय र स्थानीय सरकारबीच सहकार्य भएमा मात्रै स्थायी शान्ति सम्भव हुन्छ । त्यसैले गोदावरी नगरपालिका प्रहरीलाई सशक्त बनाउन निरन्तर सहयोग गर्न तयार छ ।”उनले थपे, “नगरवासीको सुरक्षाको जिम्मेवारी हामी सबैको साझा कर्तव्य हो । आवश्यक परे नगरपालिका उद्धार, विपद् व्यवस्थापन वा संरचना पुनर्निर्माण जस्ता सबै क्षेत्रमा सधैं अग्रपंक्तिमा रहनेछ ।”
नगरपालिकाले महानगरीय प्रहरी वृत्त चापागाउँ, प्रहरी प्रभाग लेले र प्रहरी प्रभाग बाँडेगाउँलाई आवश्यक सामग्री उपलब्ध गराएको हो । यी प्रहरी कार्यालयहरू जेन–जी आन्दोलनका क्रममा पूर्णरूपमा जलेर नष्ट भएका थिए ।
नगरपालिकाले हस्तान्तरण गरेका सामग्रीहरूमा लेडर ग्लोब्स, कटन ग्लोब्स, टर्चलाइट, ब्याकबोर्ड, फ्लासलाइट, डाइनामिक रेस्क्यु रोप, साबेल, पिक, सेफ्टी भेस्ट, स्टेचर, प्राथमिक उपचार बाकस, रेनकोट, लाइफ रिङ, थ्रो ब्याग, सेफ्टी हेल्मेट र मेघाफोन माइक लगायतका उपकरण रहेका छन् । साथै, प्रहरीको सञ्चालनमा सहजता ल्याउन तीनवटा मोटरसाइकल समेत प्रदान गरिएको हो ।

यसका साथै, गोदावरी नगरपालिकाले प्रहरी वृत्त चापागाउँको पुनर्निर्माणका लागि नगद १० लाख रुपैयाँ सहयोग गरेको छ । नगरप्रमुख महर्जनका अनुसार वडा नं. १, १४, २, ३ र ४ ले प्रहरी प्रभाग बाँडेगाउँ पुनर्निर्माणमा सहयोग गरिरहेका छन् भने वडा नं. ५, ६, १० र ११ ले प्रहरी प्रभाग लेले र प्रहरी चौकी चापागाउँको पुनर्निर्माणमा सहयोग गरिरहेका छन् ।

एसएसपी होविन्द्र बोगटीले आन्दोलनका क्रममा क्षति पुगेका अधिकांश प्रहरी संरचना स्थानीय समुदाय, समाजसेवी, व्यवसायी र जनप्रतिनिधिको सहयोगमा पुनःनिर्माण भइसकेको जनाउँदै भने, “बाँकी स्थानहरूमा पनि पुनर्निर्माण कार्य तीव्र गतिमा भइरहेको छ । अपराध नियन्त्रण र कानुनी शासन कायम गर्न प्रहरी निरन्तर प्रतिबद्ध छ ।”
प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले ललितपुर जिल्लाले असामान्य अवस्थालाई सामान्यतर्फ फर्काउँदै अन्य जिल्लाभन्दा शान्ति–सुरक्षाको दृष्टिले अघि रहेको उल्लेख गर्दै सहयोग गर्ने सबै निकायप्रति आभार व्यक्त गरे ।
कार्यक्रममा बोल्दै गोदावरी नगरपालिकाका कार्यकारी अधिकृत मान बहादुर खड्काले प्रहरीको मनोवल उच्च भएन भने समाजमा निराशा आउने बताए । नागरिकको सेवामा नेपाल प्रहरी २४ घण्टा खटिनु पर्ने भएको कारण गोदावरी नगरपालिकाले सामग्री हस्तान्तरण गरेको वताए ।
कार्यक्रममा वडा नं. १ का अध्यक्ष श्रीराज थापा, वडा नं. २ का मनोहर सिलवाल, वडा नं. ६ का विष्णुमान महर्जन, वडा नं. ९ का आत्माराम थापा, वडा नं. १० का शेखर न्यौपाने लगायत जनप्रतिनिधि, प्रहरी अधिकारी र स्थानीय सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।











