२९ पुष २०८२, मंगलवार
Follow us :

जेनजी आन्दोलनपछि क्षतिग्रस्त हायात रिजेन्सी पुनर्निर्माणपछि शीघ्र सञ्चालनमा आउने

कान्तिपुर प्रेस

जेनजी आन्दोलनका क्रममा क्षति पुगेको पाँचतारे होटल तारागाउँ रिजेन्सी (हायात रिजेन्सी काठमाडौँ) पुनर्निर्माणपछि शीघ्र सञ्चालनमा आउने भएको छ। होटलका कार्यकारी निर्देशक सुरेशलाल श्रेष्ठले आइतबार एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिनुभएको हो।

विज्ञप्तिअनुसार, आन्दोलनका क्रममा भएको क्षतिका कारण होटलले अस्थायी रूपमा सेवा स्थगन गरेको थियो। सो घटनापछि प्रधानमन्त्री सुशीला कार्की र अर्थमन्त्री रामेश्वर खनालले सरकारबाट आवश्यक सहयोग र साथ प्रदान गरिने आश्वासन दिनुभएको उल्लेख गर्दै होटल व्यवस्थापनले आभार प्रकट गरेको छ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा होटलमा भौतिक क्षति पुगेको थियो। क्षतिको मूल्याङ्कन भइरहेको र पुनर्निर्माणपछि होटलले नेपालको पर्यटन क्षेत्रको प्रतिष्ठा अझ उकास्ने दृढ सङ्कल्पसहित पुनः सञ्चालन हुने विज्ञप्तिमा उल्लेख छ।

यसबीच, होटल बन्द गर्ने निर्णयप्रति श्रमिक संगठनहरूले आपत्ति जनाएका छन्। नेपाल होटेल, क्यासिनो तथा रेस्टुरेन्ट श्रमिक सङ्घ, अखिल नेपाल होटेल, क्यासिनो तथा रेस्टुरेन्ट मजदुर सङ्घ र नेपाल पर्यटन, होटेल, क्यासिनो तथा रेस्टुरेन्ट मजदुर युनियन सङ्घले संयुक्त विज्ञप्ति जारी गर्दै आफूहरूसँग कुनै छलफल नगरी होटल व्यवस्थापनले एकतर्फी निर्णय गरेको आरोप लगाएका छन्।

सङ्घहरूले आन्दोलनका घटनाको निष्पक्ष छानबिन गरी दोषी पत्ता लगाउन र श्रमिक अधिकार सुनिश्चित गर्न सरकार र होटल प्रशासनसँग आग्रह गरेका छन्।

११ कार्तिक २०८२, सोमबार ०६:५५ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०