१७ बैशाख २०८३, बिहीबार
Follow us :

छठ पर्वले लोकतान्त्रिक मूल्य र राष्ट्रिय एकता सुदृढ पार्ने अवसर : उपसभामुख राना

कान्तिपुर प्रेस

उपसभामुख इन्दिरा रानाले आगामी फागुन २१ गते हुने निर्वाचनलाई लोकतान्त्रिक मूल्य र जनमतका माध्यमबाट देशलाई अझ सशक्त बनाउने अवसरका रूपमा उपयोग गर्न सबै नागरिकलाई आग्रह गर्नुभएको छ।

उदाउँदो सूर्यको आराधना गर्दै उल्लासपूर्वक मनाइने छठ पर्व–२०८२ का अवसरमा सोमबार शुभकामना सन्देश जारी गर्दै उपसभामुख रानाले एकता, सहकार्य र सद्भावका माध्यमबाट देशलाई स्थिर र समुन्नत बनाउने सङ्कल्प गर्नुपर्ने बताउनुभयो।

“छठ पर्वको अवसरमा हामी सबैले एक–अर्काप्रति हार्दिकता, आदर र सहकार्यको भावना बढाउँदै लोकतान्त्रिक मूल्य र राष्ट्रिय एकताको संरक्षण गर्ने सङ्कल्प लिनुपर्छ,” उहाँले शुभकामना सन्देशमा भन्नुभएको छ।

नेपाल विविध भाषा, संस्कृति, धर्म र समुदायको साझा घर भएको उल्लेख गर्दै उहाँले हरेक समुदायले आफ्ना आस्थाअनुसार पर्व मनाउनु र अन्य समुदायका पर्वहरूमा सहभागी हुनु नेपालको सामाजिक एकताको सुन्दर उदाहरण भएको बताउनुभयो।

उहाँका अनुसार नेपालको संविधानले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र क्षेत्रीय विविधतालाई आत्मसात् गर्दै सबै नागरिकबीच सम्मान र एकताको भावना स्थापनाको आधार तयार गरेको छ।

सन्देशमा छठ पर्व पारिवारिक सुख, शान्ति र कल्याणको प्रतीक रहेको उल्लेख गर्दै सूर्य देवताको आराधनाबाट प्रकृति, श्रम र जीवनप्रतिको आस्था झल्किने बताइएको छ।

उपसभामुख रानाले शुभकामना सन्देशमा भनुभएको छ, “छठ पर्वले हामी सबैमा एकता, आपसी सद्भाव, सहकार्य र देशप्रतिको निष्ठाको भावना जगाओस्। राजनीतिक स्थिरता, विश्वसनीयता र सुशासन स्थापना गर्दै समुन्नत नेपाल निर्माण गर्ने मार्गमा हामी सबैलाई प्रेरणा मिलोस्।”

११ कार्तिक २०८२, सोमबार ०७:०३ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०