पाँचथरको मिक्लाजुङ–८ भदौरमा आइतबार घरायसी विवादका क्रममा १७ वर्षीय सफल लिम्बूको बाबु बखतसिंह लिम्बूले गोली हानी मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी रुपेश तामाङका अनुसार, मादक पदार्थ सेवनमा रहेका बखतसिंहले घर नजिकैको बारीमा आफ्नै छोरामाथि गोली चलाएका थिए।
गोली सफलको छाती, कुम र कञ्चटसहित शरीरका विभिन्न भागमा लागेको थियो। घटनास्थलमै उनकाे मृत्यु भएको थियो। घटनाको जानकारी पाएपछि खटिएको प्रहरी टोलीले बखतसिंहलाई पक्राउ गरी बन्दुक नियन्त्रणमा लिएको छ। मृतकको शव पोष्टमार्टमका लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ। प्रहरीले घटनाको विस्तृत अनुसन्धान सुरु गरेको जनाएको छ।











