ललितपुर, कात्तिक ११ — भदौ २४ गतेको आन्दोलनमा क्षति पुगेको ललितपुरको बुंगमती (भैसेपाटी) प्रहरी प्रभागको भवन पुनःनिर्माण सम्पन्न भई औपचारिक रूपमा नेपाल प्रहरीलाई हस्तान्तरण गरिएको छ। स्थानीय समुदायको सक्रिय सहभागिता र सहयोगमा पुनःनिर्माण कार्य सम्पन्न भएको हो।
भदौ २६ गते स्थानीय सुमन महतको संयोजकत्वमा गठन गरिएको ११ सदस्यीय पुनःनिर्माण समितिले दुई सयभन्दा बढी स्थानीय, व्यवसायी, संघसंस्था तथा समाजसेवीबाट संकलित ४९ लाख ५४ हजार ६८ रुपैयाँको सहयोगमा भवन पुनःनिर्माण गरेको हो।
मंगलबार आयोजित औपचारिक कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीले भवनको उद्घाटन गर्दै शान्ति सुरक्षाको संवर्द्धनमा समुदायको योगदानको प्रशंसा गर्नुभयो। उहाँले सार्वजनिक सम्पत्तिको क्षति दुःखद भएको उल्लेख गर्दै दोषीलाई कानूनी दायरामा ल्याउन कुनै कसर बाँकी नराखिने स्पष्ट गर्नुभयो।

“यो भवन केवल संरचना होइन, राज्यको प्रत्याभूति दिने थलो हो,” उहाँले भन्नुभयो, “शान्तिपूर्ण र सभ्य समाज निर्माणमा प्रहरीको भूमिका अझ सशक्त हुनुपर्छ।”
प्रभाग प्रमुख प्रहरी निरीक्षक शशीधर शर्माले आन्दोलनका क्रममा लुटिएका सामग्रीमध्ये प्रहरीका लत्ताकपडाको सट्टा नेपाल महिला संघकी केन्द्रीय सदस्य निरु खड्काले ५४ सेट ट्रयाकसुट हस्तान्तरण गर्नुभएको जानकारी दिनुभयो।
पुनःनिर्माण कार्यमा ललितपुर महानगरपालिका वडा नं. १८, २१, २२ र २५ का अध्यक्षहरू, प्रगति युवा क्लब तथा स्थानीय विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय सहयोग रहेको प्रहरी निरीक्षक शर्माले बताए।
जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी चक्र जोशीका अनुसार आन्दोलनका क्रममा पुलचोक र हरिसिद्धिबाट केही हतियार लुटिएको र ती अझै बरामद नभएको अवस्था छ। आन्दोलनले जिल्लाभित्रका २१ वटा प्रहरी कार्यालयमा क्षति पुर्याएको थियो।
प्रहरी बरिष्ठ उपरीक्षक होबिन्द्र बोगटीले पुनःस्थापना कार्यमा सहयोग गर्ने सबैलाई आभार व्यक्त गर्दै शान्तिपूर्ण समाज निर्माणमा नागरिक र प्रहरीको सहकार्य अपरिहार्य रहेको उल्लेख गर्नुभयो।











