१६ बैशाख २०८३, बुधबार
Follow us :

अन्नपूर्ण आधार शिविरमा हिमपात: पदयात्रा पूर्ण रूपमा रोकियो

कान्तिपुर प्रेस

म्याग्दी, असोज ११ — अन्नपूर्ण प्रथम हिमालको आधार शिविरतर्फको पदयात्रा हालैको हल्ला वर्षा र हिमपातका कारण पूर्ण रूपमा रोकिएको छ। उच्च हिमाली भेगमा लगातार भइरहेको खराब मौसमले पर्यटकको सुरक्षामा जोखिम बढेपछि जिल्ला प्रहरी कार्यालय म्याग्दीले पदयात्रा स्थगनको निर्णय गरेको हो।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाका अनुसार अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित ८,०९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविर, मौरिस हर्जोग पदमार्ग तथा पञ्चकुण्ड तालको भ्रमणमा अस्थायी रोक लगाइएको छ।

“पर्यटकको सुरक्षालाई ध्यानमा राख्दै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा स्थानीय उद्दारकर्मीको टोली अन्नपूर्ण गाउँपालिकासँग समन्वय गरी परिचालन गरिएको छ,” थापाले जानकारी दिनुभयो।

हिमपातका कारण पदमार्गमा अलपत्र परेका पर्यटकलाई उद्दार गर्न टोली खटाइएको छ। पर्यटकलाई सुरक्षित स्थानमा झार्न नारच्याङ र भुरुङ तातोपानीमा व्यवस्थापन गरिएको अन्नपूर्ण गाउँपालिका–४ का वडाध्यक्ष लोकबहादुर पुनले जानकारी दिनुभयो।

मौरिस हर्जोग पदमार्गका अभियन्ता तेज गुरुङका अनुसार हुमखोलादेखि पदयात्रा रोकिएको छ। हिजो रातिदेखि लगातार वर्षा र हिमपात भइरहेकोले होटल व्यवसायीहरू पनि निराश बनेका छन्।

प्रहरीले आवश्यक सहयोगका लागि कन्ट्रोल नम्बर १०० वा नजिकको प्रहरी कार्यालय तथा अन्नपूर्ण गाउँपालिकाका जनप्रतिनिधिसँग सम्पर्क गर्न अनुरोध गरेको छ।

वर्षा नरोकिँदासम्म पदयात्रा नगर्न स्थानीय प्रशासनले पर्यटक तथा पदयात्रा प्रेमीहरूलाई आग्रह गरेको छ।

१२ कार्तिक २०८२, मंगलवार १३:१० मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०