काठमाडौं, असोज ११ — बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ आज मंगलबार गम्भीर चक्रवाती आँधीमा परिणत भएको छ, जसले भारतको तटीय राज्यहरूमा संकट निम्त्याएको छ। भारतीय मौसम विभागका अनुसार यो चक्रवात आज राति आन्ध्र प्रदेशको काकिनाडा नजिक मछलीपट्टनम र कलिंगपट्टनमको बीचको तट पार गर्ने अनुमान गरिएको छ।
चक्रवातको प्रभावले आन्ध्र प्रदेश, ओडिशा र तमिलनाडुका केही भागमा भारी वर्षा, तीव्र हावा र समुद्री आँधी ल्याउने सम्भावना रहेको छ। हावाको गति ९०–१०० किलोमिटर प्रति घण्टासम्म पुग्ने अनुमान गरिएको छ, जसले तटीय क्षेत्रमा जनधनको क्षति पुर्याउने खतरा बढाएको छ।
महाराष्ट्रको विदर्भ क्षेत्रमा पनि २८ देखि ३० अक्टोबरसम्म मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको मौसम विभागले जनाएको छ।
नेपालमा पनि यसको प्रभाव देखिने पूर्वानुमान गरिएको छ। मौसमविद्हरूका अनुसार चक्रवात ‘मोन्था’ बिहीबारदेखि पूर्वी नेपालमा प्रवेश गर्नेछ। कोशी प्रदेश, मधेश हुँदै मध्य नेपालसम्म यसको असर पर्नेछ। यसले ती क्षेत्रहरूमा भारी वर्षा, बाढी र पहिरोको जोखिम बढाउने सम्भावना छ।
सावधानी अपनाउन मौसम विभागको आग्रह
नेपालका नागरिकहरूलाई विशेषगरी पूर्वी र तराई क्षेत्रहरूमा सतर्कता अपनाउन मौसम विभागले आग्रह गरेको छ। स्थानीय प्रशासनले जोखिमयुक्त क्षेत्रहरूमा पूर्वतयारी गर्न र आपतकालीन सेवाहरू तयारी अवस्थामा राख्न निर्देशन दिएको छ।












