बनेपा, कात्तिक २१ — नेपाल सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) आफ्नै सुरक्षण मुद्रण केन्द्रबाट छपाइ सुरु गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको केन्द्रले आजदेखि लाइसेन्स छपाइको औपचारिक शुभारम्भ गरेको हो।
सञ्चारमन्त्री जगदीश खरेलले बनेपास्थित मुद्रण केन्द्रमा प्रिन्टिङ मेसिनको बटन थिचेर छपाइ कार्यको उद्घाटन गर्नुभयो। उहाँले वर्षौंदेखि थन्किएका धुलाम्मे मेसिनहरूलाई पुनःसञ्चालनमा ल्याएर छपाइ सुरु गरिएको जानकारी दिनुभयो।
“धुलो टकटक्याएर छपाइको काम थालेका हौँ,” मन्त्री खरेलले भन्नुभयो, “२८ लाख ड्राइभिङ लाइसेन्स छाप्नुपर्ने अवस्था छ। अब जनतालाई सुशासनको प्रत्याभूति दिन सकिन्छ।”
लाइसेन्स, राहदानी, राष्ट्रिय परिचयपत्रजस्ता महत्त्वपूर्ण कागजातहरू सधैं विदेशी कम्पनीलाई ठेक्का दिइन्थ्यो। यसले सुरक्षा जोखिम र ठूलो रकम बाहिरिने अवस्था सिर्जना गरेको थियो। मन्त्री खरेलले नीतिगत सुधारमार्फत अब यस्ता छपाइ कार्य स्वदेशमै गर्न सकिने बताए।
“पूर्वाधार र स्रोत साधन भएर पनि छपाइ हुन नसकेको अवस्था थियो,” उहाँले भने, “अब अदालतको मुद्दा, अख्तियारको उजुरी, कानुनी अफ्ठ्यारा सबै चिर्दै छपाइ सुरु गरेका छौँ।”
केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाका अनुसार पहिलो चरणमा १२ लाख लाइसेन्स छपाइको सम्झौता भएको छ। प्रारम्भमा दैनिक ५०० कार्ड छपाइ गरिनेछ, जुन क्रमशः बढाइनेछ। कार्डमा आधारित छपाइ सुरु भइसकेको छ भने कागजी छपाइ आगामी ६ महिनाभित्र सुरु गरिने योजना छ।
“आजकै मितिदेखि नागरिकता, अन्तःशुल्क स्टिकर, हुलाक टिकट, लालपुर्जा र भिसा स्टिकर पनि छाप्न सकिनेछ,” ढुङ्गानाले जानकारी दिनुभयो।
सुरक्षण मुद्रण केन्द्रमा हालसम्म झण्डै रु. तीन अर्ब लगानी भइसकेको छ। मन्त्री खरेलले यसलाई राष्ट्रिय सुरक्षाको दृष्टिकोणले पनि महत्वपूर्ण सुरुवात भएको बताउँदै निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।











