९ चैत्र २०८१, आईतवार
Follow us :

कृषकको हौसला बढाउँदै त्रिवेणी गाउँपालिका, ५०% अनुदानमा उपकरण वितरण

कान्तिपुर प्रेस

त्रिवेणी गाउँपालिकाले कृषकलाई ५० प्रतिशत अनुदानमा आधुनिक कृषि औजार वितरण गरेको छ । कृषि क्षेत्रमा प्रविधिको प्रयोग गर्दै उत्पादन वृद्धि गर्ने उद्देश्यले गाउँपालिकाले विभिन्न कृषक समूह, सहकारी तथा निजी फार्मका कृषकलाई आवश्यक उपकरण उपलब्ध गराएको हो ।

यस वर्ष गाउँपालिकाले वितरण गरेका प्रमुख कृषि औजारमा कम्बाइन मिल, कुटानी पिसानी मिल, मिनी ट्रिलर, डिजिटल तौल मेसिन, डिप फ्रिज, कुखुराको प्वाँख खुइलाउने मेसिन, च्यापकटरलगायत छन् ।

गाउँपालिकाको आर्थिक वर्ष २०८१/८२ को स्वीकृत कार्यक्रम अन्तर्गत गठन गरिएको पालिकास्तरीय कृषि विकास समितिको सिफारिसमा १२ वटा कृषक समूह तथा सहकारीलाई ११ वटा मिनी ट्रिलर र छ वटा कम्बाइन मिल वितरण गरिएको हो ।

यस्तै पशु शाखाको वार्षिक पशु विकास कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा दुई वटा डिप फ्रिज, दुई वटा दाना पिस्ने मिल, तीन वटा डिजिटल तौल मेसिन, एउटा फलामको टोकरी, तीन वटा दाना पिस्ने मेसिन, एउटा कुखुराको प्वाँख खुइलाउने मेसिन र एउटा च्यापकटरसमेत वितरण गरिएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमबहादुर केसीले कृषकको माग र आवश्यकताका आधारमा गाउँपालिकाका सबै वडामा यी उपकरण वितरण गरिएको बताउनुभयो । उहाँका अनुसार आधुनिक कृषि प्रविधिको प्रयोगले कृषकको श्रम घटाउनुका साथै उत्पादन वृद्धिमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

अनुदानमा आधुनिक औजार प्राप्त गरेका कृषक निकै उत्साहित देखिएका छन् । स्थानीय कृषक खड्कबहादुर रेउलेले आधुनिक उपकरण पाएपछि काम गर्न सजिलो भएको बताउनुभयो । अर्का किसान प्रकाश ओलीले दाना पिस्ने मेसिन, डिजिटल तौल मेसिन र डिप फ्रिज पाएपछि व्यावसायिक कृषि गर्न थप हौसला मिलेको बताउनुभयो ।

गाउँपालिकाका अध्यक्ष खिमबहादुर रावतले कृषकलाई आधुनिक प्रविधिसँग जोड्ने र उत्पादन वृद्धिमा टेवा पु¥याउने लक्ष्यसहित यो कार्यक्रम ल्याइएको बताउनुभयो । त्रिवेणी गाउँपालिकाका पशु शाखा प्रमुख वसन्त रावतले कृषि र पशुपालनलाई व्यावसायिक बनाउने कार्यले किसानलाई उत्पादन र बजारीकरणमा सहयोग पुगेको बताउनुभयो ।

८ फाल्गुन २०८१, बिहीबार ०१:१३ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०