१० चैत्र २०८१, सोमबार
Follow us :

कोशी प्रदेशमा सहकारी संस्थाको विवरण बुझाउने दर घट्दै, १६६ लाई जरिवाना

कान्तिपुर प्रेस

कोशी प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालय इनरुवाको नियमन क्षेत्रका ५० प्रतिशत सहकारी संस्थाले पनि रजिस्ट्रार कार्यालयमा विवरण बुझाएका छैनन् ।

रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयले कोशी प्रदेशका एक हजार ७७ वटा सहकारी संस्थाको नियमन तथा अनुगमन गर्दै आएको छ । एउटा पालिकाभन्दा बढी कार्यक्षेत्र भएका सहकारी संस्थाको अनुगमन तथा नियमनको जिम्मा रजिस्ट्रार कार्यालयले पाएको छ ।

प्रदेशका १४ जिल्लामध्ये भोजपुर र सोलुखुम्बुका कुनै पनि सहकारी संस्थाले आर्थिक वर्ष २०८०/८१ विवरण हालसम्म बुझाएका छैनन् । रजिस्ट्रार कार्यालयको तथ्याङ्क अनुसार भोजपुरमा २३ र सोलुखुम्बुमा १४ वटा विभिन्न प्रकृतिका सहकारी संस्था रहेका छन् । रजिस्ट्रारको कार्यालयका अधिकृत मनोज कार्कीका अनुसार माघ २८ सम्ममा प्रदेशका ४१३ वटा सहकारी संस्थाले मात्र विवरण बुझाएका छन् ।

विभागले सहकारी संस्थालाई आव सुरु भएको छ महिनाभित्र साधारण सभा गरिसक्न निर्देशन गरेको हुन्छ । यस्तै साधारण सभा भएको ३० दिनभित्र नियमनकारी निकायमा लेखा परीक्षण प्रतिवेदन, कर चुक्ता प्रमाणपत्रसहित निर्णयको प्रतिलिपि बुझाउनुपर्ने व्यवस्था रहेको छ ।

रजिस्ट्रार कार्यालयको तथ्याङ्क अनुसार झापाका ३३३ वटा सहकारी संस्था प्रदेशको नियमन क्षेत्रमा रहेका छन् जसमध्ये १४७ वटाले विवरण बुझाएका छन् । मोरङका १६५ वटा सहकारी संस्थाले विवरण बुझाएका छन् । मोरङमा प्रदेश कार्यालयको नियमनभित्र २७७ वटा सहकारी संस्था रहेका छन् । यसै गरी सुनसरीका १३१ मध्ये ५१ वटाले, इलामका ६६ मध्ये १६ वटाले, तेह्रथुमका ३४ मध्ये छ वटाले विवरण बुझाएका छन् । यस्तै धनकुटाका २९ मध्ये आठले, सङ्खुवासभाका २३ मध्ये चारले, ताप्लेजुङका २१ मध्ये तीनले, खोटाङका २२ मध्ये दुईले, ओखलढुङ्गाका २५ मध्ये दुईले, उदयपुरका ३२ मध्ये चार र पाँचथरका ४७ मध्ये पाँच वटाले विवरण बुझाएका छन् ।

रजिस्ट्रार कार्यालयले माघ २८ सम्ममा १६६ वटा सहकारी संस्थालाई जरिबाना गरेको छ । जरिबानाबाट एक लाख २१ हजार एक सय रुपियाँ राजस्व सङ्कलन भएको छ ।

कोशी प्रदेशमा बचत तथा ऋण सहकारी ४४७ वटा, बहुउद्देश्यीय १८१ वटा, कृषि २३८, दुग्ध २९, विद्युत् तथा वैकल्पिक ऊर्जा १७, सञ्चार १८, विशिष्टीकृत सहकारी सङ्घ चार, विषयगत सहकारी सङ्घ ६२ र विविध ८१ वटा सहकारी संस्था रहेका छन् । आव २०७९/८० मा पाँच सय सहकारी संस्थाले विवरण बुझाएका थिए भने ५७७ वटाले विवरण बुझाएका थिएनन् ।

८ फाल्गुन २०८१, बिहीबार ०१:१७ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०