सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालले दूरसञ्चार क्षेत्रका समस्या समाधान हुनेगरी नयाँ कानुन निर्माणको प्रक्रिया अघि बढिरहेको बताएकी छिन् । टेकपानाले बिहीबार ललितपुरमा आयोजना गरेको ‘दूरसञ्चारको भविष्य निर्माण: नीति र नवप्रवर्तनमा अन्तर्दृष्टि’ विषयक कार्यक्रममा बोल्दै सचिव अर्यालले दूरसञ्चार ऐन तर्जुमा कार्य जारी रहेको जानकारी दिइन् ।
दूरसञ्चार क्षेत्रका संवेदनशील मुद्दाहरूमा थप छलफल गर्न मन्त्रालयले विशेष कार्यक्रम सञ्चालन गर्ने भन्दै उनले ऐन तर्जुमा प्रक्रियामा उठेका विषयवस्तु समेटी कानुनी स्पष्टता दिइने भनाइ राखिन् । “यी अस्पष्टता, दुविधा र समस्याहरूलाई सम्बोधन गर्दै हामी नयाँ प्रविधिको नवप्रवर्तनमा अघि बढ्नुपर्छ,” उनले भनिन् ।
उनले अगाडि भनिन्, “हामी समस्याहरू स्वीकार गर्छौं, तर विद्यमान कानुनलाई नाघेर कुनै पनि निर्णय लिन सक्दैनौँ । नयाँ कानुनले सबैको समस्या सम्बोधन गर्नेछ ।”
प्रविधिको तीव्र विकाससँगै दूरसञ्चार क्षेत्रका नीति तथा नियमनहरू अद्यावधिक गर्नुपर्ने आवश्यकता देखिएको उनको भनाइ थियो । विश्वभरि नै दूरसञ्चार क्षेत्रमा चुनौती देखिइरहेको सन्दर्भमा नेपाली सेवाप्रदायकले सेवा सुधार र नवप्रवर्तनमा ध्यान दिनुपर्नेमा उनले जोड दिइन् ।