नेपालमा विदेशी दूरसञ्चार सेवा प्रदायक कम्पनीका सिम कार्ड तथा रिचार्ज कार्ड बिक्री गर्न नियामकको स्वीकृति लिनुपर्ने भएको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले बिहीबार एक सूचना जारी गर्दै सम्बन्धित सरोकारवालाहरूलाई यस्तो नियम अवगत गराएको हो ।
सूचना अनुसार विदेश यात्रा गर्ने व्यक्तिहरूलाई लक्षित गरी नेपालमा सिम तथा रिचार्ज कार्ड बिक्री वितरण गर्न प्राधिकरणबाट ‘नो अब्जेक्सन’ लिनु पर्ने व्यवस्था गरिएको छ ।
“तत् तत् देशहरूमा जाने व्यक्तिहरूलाई सिम कार्ड र रिचार्ज कार्डहरू बिक्री वितरण गर्ने सम्बन्धित व्यक्तिहरूले यस प्राधिकरणबाट नो अब्जेक्सन लिएर मात्र बिक्री वितरण गर्नु गराउनु हुन सम्बन्धित सरोकारवालाहरूलाई जानकारी गराइन्छ,” प्राधिकरणले भनेको छ ।
प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले स्वीकृति नलिई यस किसिमको कार्य गरेको पाइएमा प्रचलित कानुन अनुसार कारबाही गरिने बताए ।