८ चैत्र २०८१, शनिबार
Follow us :

पर्यटन, कृषि, जलस्रोत र पूर्वाधार नै देश विकासको आधार – राष्ट्रपति पौडेल

कान्तिपुर प्रेस

राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रनिर्माणको महाअभियानमा जुट्न सबैलाई आग्रह गर्नुभएको छ । पर्यटकीय राजधानी पोखराको सराङकोटमा जारी श्रीमद्भागवत ज्ञान महायज्ञ, धार्मिक पर्यटन महोत्सव–२०८१ एवं देवालय सराङकोटधामको उद्घाटन समारोहलाई शनिबार सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

उहाँले जनताको लामो सङ्घर्ष, त्याग र बलिदानबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्त भएको बताउँदै संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभीष्ट पनि मुलुकको आर्थिक विकास भएको स्पष्ट पार्नुभयो । उहाँले देश विकासको मूल आधार कृषि, जलस्रोत, पर्यटन र पूर्वाधार विकास भएकाले कृषि, जलस्रोत, पर्यटन, उद्योगधन्दाको विकास र उत्पादन बढाएर स्वदेशी अर्थतन्त्रलाई मजबुत बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

सोही सन्दर्भमा उहाँले युवा जनशक्तिको पलायन मुलुकका लागि ठुलो चिन्ताको विषय भएको भन्दै यो अवस्थाबाट मुलुकलाई जोगाउन सम्बद्ध सबैलाई गम्भीर बन्न आग्रह गर्नुभयो ।

राष्ट्रपति पौडेलले २०४६ सालको परिवर्तनपछि गाउँगाउँमा बाटो, बिजुली, पानी, शिक्षा, स्वास्थ्य, सञ्चारजस्ता पूर्वाधार पुगिसकेको बताउँदै अब स्वदेशमै रोजगारी र आम्दानीको अवसर सिर्जना गरी विदेश पलायन भइरहेको युवा जनशक्तिलाई रोक्नु पहिलो आवश्यकता भएको बताउनुभयो ।

राष्ट्रपति पौडेलले महोत्सवसँगै सराङकोट टापुमा निर्माण भएको विशाल पञ्चमुखी गणेश मूर्ति, कैलाशेश्वर शिव मन्दिरलगायतका देवालय, १०८ शिवलिङ्ग तथा धाराको समेत उद्घाटन गर्नुभएको थियो ।

समारोहमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सराङकोटधामलाई एकीकृत बनाउन प्रकृति र संस्कृतिको व्यापक प्रचारप्रसार गर्नुपर्ने आजको आवश्यकता रहेको बताउनुभयो । धार्मिक र प्राकृतिक दृष्टिकोणले पोखरा केन्द्रबिन्दु भएको बताउँदै उहाँले यसआसपासका क्षेत्रलाई प्रवर्धन गर्नुपर्नेमा जोड दिनुभयो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशको मेरुदण्ड नै पर्यटन रहेको बताउनुभयो । उहाँले पर्यटकीय राजधानीको विषयमा आग्रहपूर्वाग्रहभन्दा माथि उठ्नुपर्ने भन्दैै सराङकोट, पुम्दीकोट, पञ्चकोटजस्ता धार्मिक स्थलमा पर्यटकको उच्च सम्भावना रहेकाले आवश्यक विकासमा जोड दिनुपर्ने बताउनुभयो ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखराको धार्मिक पर्यटकीय गन्तव्य सराङकोटधाममा धार्मिक पर्यटक बढी आउने गरेको बताउनुभयो । उहाँले सराङकोटको विकासमा महानगरपालिका हरकदममा साथ रहेको उल्लेख गर्नुभयो । सराङकोट धार्मिक एवं पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष प्रेमबहादुर जिसीको अध्यक्षतामा भएको सो समारोहमा समितिमा उल्लेखनीय योगदान पुर्‍याउनुहुने १० जनालाई सम्मान गरिएको थियो ।

१८ फाल्गुन २०८१, आईतवार ०६:४३ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०