असोज दोस्रो सातामा आएको बाढीपहिरोका कारण क्षतिग्रस्त बीपी राजमार्गका विभिन्न खण्ड स्थायी रूपमा पुनर्निर्माण गरिने भएको छ। भक्तपुर र सिन्धुलीका डिभिजन सडक कार्यालयहरूले पुनर्निर्माणका लागि ठेक्का आह्वान गरिसकेका छन्।
बाढीले पाँच महिनाअघि क्षति पुर्याएको १३ किलोमिटरमध्ये साढे आठ किलोमिटर सडक पूर्ण रूपमा नष्ट भएको थियो। पुनर्निर्माण कार्य चार प्याकेजमा बाँडेर गरिनेछ।
सिन्धुली खण्डअन्तर्गत नेपालथोकदेखि वर्षेखोला खण्डका लागि फागुन २८ गते ठेक्का आह्वान गरिएको छ। यसका लागि ७२ करोड बजेट छुट्याइएको छ भने ठेक्कामा सहभागी कम्पनीहरूले १ करोड ८२ लाख ५० हजार रुपैयाँ सुरक्षा रकम राख्नुपर्नेछ।
काभ्रेपलाञ्चोक क्षेत्रमा पर्ने सडकखण्डको पुनर्निर्माणका लागि मंगलबार पहिलो टेण्डर आह्वान गरिएको छ। डालाबेसीदेखि चारसयबेसीसम्मको आठ किलोमिटर सडक निर्माणका लागि २ अर्ब ५० करोड रुपैयाँ छुट्याइएको छ। सहभागी कम्पनीहरूले ६ करोड ५० लाख रुपैयाँ सुरक्षण रकम राख्नुपर्ने जनाइएको छ।
गत फागुन ६ गते अर्थ मन्त्रालयले ८ अर्ब ५० करोड रुपैयाँ बजेट स्वीकृत गरेको थियो। ठेक्का प्रक्रियापछि दुई वर्षभित्र पुनर्निर्माण सक्ने योजना छ। पुनर्निर्माणपछि सडकलाई इन्टरमिडियट लेनबाट दुई लेनको बनाइनेछ।
स्थायी पुनर्निर्माण अघि आगामी वर्षायाममा नियमित यातायात सञ्चालनका लागि अस्थायी मर्मतकार्य तीव्र पारिएको छ। काभ्रेपलाञ्चोकको रोशी क्षेत्रमा सडक उचाइ बढाउने, ग्राभेल हाल्ने र जाली भरिने कार्य भइरहेको छ।
धुलिखेल-नेपालथोक तथा नेपालथोक-खुर्कोट सडक मर्मतका लागि सरकारले २१ करोड २५ लाख रुपैयाँ बजेट छुट्याएको छ। हाल काठमाडौंबाट रामेछाप, सिन्धुली जाने यातायातका साधनहरूले खोलाको बगरमा बनाइएको अस्थायी सडक प्रयोग गरिरहेका छन्।











