ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले विपद प्रतिकार्यमा स्थानीय तहलाई संघ र प्रदेश सरकारको प्रभावकारी सहयोग आवश्यक छ भन्ने बताउनुभएको छ ।
जिल्ला प्रशासन कार्यालय ललितपुरद्वारा बुधबार आयोजित जिल्ला विपद व्यवस्थापन समितिको वैठक र मनसुनजन्य विपद पूर्वतयारी तथा प्रतिकार्य योजनामा छलफलमा धारणा राख्नुहुँदै प्रमुख महर्जनले विपदको समयमा एउटा स्थानीय तहले मात्रै केही गर्न सक्दैन भन्दै प्रतिकार्य,।राहत र उद्धार कार्यमा संघ, प्रदेश र संघसंस्थाको पनि सहयोग आवश्यक छ भन्ने धारणा राख्नुभएको हो ।
“गत वर्ष भन्दा बढि पानी पर्ने जल तथा मौसम विज्ञान विभागको प्रक्षेपण छ, त्यसलाई ध्यान दिएर तयारी गर्नुपर्ने छ, गत असोज ११ र १२ को पानीले दक्षिणी भेगमा धेरै क्षति पुर्यायो, यस वरणष हामीले सचेततापूर्वक तयार गर्नु आवश्यक छ।” उहाँले भन्नुभयो ।
प्रमुख महर्जनले विपदको समयमा कतिपय कानूनी व्यवस्था सम्बोधन गर्न कठिनाइ हुनेहुँदा काम गर्न असहज हुने गरेको बताउनुभयो ।
“कतिपय कानूनी प्रवन्ध पूरा गर्न सकिंदैन, कमीकमजोरी हुन्छ, यो समस्या हो, २०७८ सालमा बाढि पीडितलाई गरेको सहयोगका कारण अहिले पनि अख्तियारले दु:ख दिइरहेको छ, हामीले यसमा पनि ध्यान दिनुपर्ने अवस्था छ।” उहाँले भन्नुभयो ।
प्रमुख महर्जनले विपदका समयमा परिचालन गर्नका लागि ललितपुर महानगरसंग छ वटा दमकल, एम्बुलेन्स लगायतका सामग्री तयारी अवस्थामा रहेको जानकारी गराउँदै छिमेकी स्थानीय तहलाई विपदको समयमा सहयोग गर्न तत्पर रहेको बताउनुभयो ।
जिल्ला समन्वय समितिका प्रमुख ऋषिदेव फूँयालले विपदको समयमा संघ र प्रदेशबाट प्रभावकारी काम हुन सकेन भन्दै यसका लागि जिल्लास्थित बिषयगत कार्यालयले ध्यान दिएर लाग्नुपर्नेमा जोड दिनुभयो।
“कान्तिलोकपथ सडकको सन्दर्भमा काम राम्रो हुन सकेन, काम गराइ सन्तोषजनक हुन सकेन, विपद प्राधिकरणले निकालेको योजना पनि कार्यान्वयन हुन सकेन, विपद पश्चातका काममा पनि चाहिने ठाउँमा बजेट पर्दैन, एक अर्ब चाहिने ठाउँमा बीस लाख बजेट छुट्याएर कसरी काम प्रभावकारी हुन्छ?” उहाँले भन्नुभयो ।
प्रमुख जिल्ला अधिकारी रमेश ढकालले विपद प्रतिकार्य समूहलाई स्थानीय तहका टोलटोलसम्म पुर्याउन आवश्यक भन्दै यसका लागि सबैले मिलेर काम गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
सहायक प्रमुख जिल्ला अधिकारी गीता घिमिरेले जिल्लाभित्रका मनसुनवाट प्रचालित हुन सक्ने जोखिमयुक्त क्षेत्रहरुको पहिचान तथा प्रभावको आकलन र जोखिमको न्यूनीकरण गर्ने सन्दर्भमा तयारीका बिषयमा जानकारी गराउँदै सरोकारवालाहरुको ध्यानाकर्षण गराउनुभएको थियोे ।
छलफलमा नेकपा (एमाले)का जिल्ला अध्यक्ष पुरुषोत्तम आचार्य, नेकपा(माओवादी केन्द्र)का अध्यक्ष शिव कट्टेल, नेपाली काँग्रेसका जिल्ला सचिव बशिष्ठकुमार अधिकारीलगायतले धारणा राख्नुभएको थियोे ।