२२ मंसिर २०८२, आईतवार
Follow us :

निजी क्षेत्रको सामाजिक उत्तरदायित्व बाल अधिकारको संरक्षणमा : साझा पहलमार्फत सुनिश्चित भविष्यको बाटो

कान्तिपुर प्रेस

नेपालमा बालबालिकाको संरक्षण, प्रवर्द्धन र समृद्ध भविष्य निर्माणका लागि निजी क्षेत्रको भूमिकालाई अझ प्रभावकारी बनाउन एक विशेष छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ। एकीकृत हातेमालो समाज नेपाल र राष्ट्रिय बाल अधिकार परिषद् (NCRC) को समन्वयमा, सेभ द चिल्ड्रेनको सहयोगमा आयोजित “संस्थागत सामाजिक उत्तरदायित्व (CSR) र बालबालिकामा लगानी” विषयक कार्यक्रममा सरकारी, निजी, तथा सामाजिक क्षेत्रका उच्चस्तरीय प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

 

कार्यक्रममा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, श्रम मन्त्रालय, नेपाल राष्ट्र बैंक, FNCCI, FCAN, निजी कम्पनीका प्रतिनिधि, बाल क्लबका सदस्यहरू, तथा अन्य सरोकारवाला निकायहरू सहभागी थिए।

छलफलमा नेपालको हालको बाल अधिकार स्थिति, बैंकिङ तथा औद्योगिक क्षेत्रबाट हुने CSR लगानीको प्रभाव, र सामाजिक उत्तरदायित्वका विधिहरूमा विस्तृत बहस गरिएको थियो। CSR लाई केवल आर्थिक लाभको साधन नभई सामाजिक न्याय, मानव अधिकार र दिगो विकासको आधारभूत स्तम्भ बनाउनुपर्नेमा वक्ताहरूले जोड दिए।

संविधान, राष्ट्रिय ऐन तथा UN Global Compact, टिकाउ विकास लक्ष्य (SDGs), र UN Guiding Principles on Business and Human Rights जस्ता अन्तर्राष्ट्रिय मान्यताहरूले व्यवसायिक उत्तरदायित्वलाई अनिवार्य पक्षका रूपमा समेटेको जानकारी पनि प्रस्तुत गरियो।

बाल अधिकारमा लक्षित CSR लगानीको स्पष्ट योजना आवश्यक
कार्यक्रममा बाल अधिकारसँग सम्बन्धित प्राथमिकता क्षेत्रहरू पहिचान गर्दै, CSR लगानीलाई बाल हितमै लक्षित गर्न विस्तृत योजना, स्पष्ट निर्देशिका, प्रभावकारी निगरानी र मूल्यांकन प्रणाली आवश्यक रहेकोमा जोड दिइयो।

बाल अधिकारमा लगानी केवल आर्थिक अवसर होइन, कानुनी र नैतिक दायित्व पनि भएको स्पष्ट पार्दै वक्ताहरूले निजी क्षेत्रलाई सशक्त साझेदार का रूपमा अघि बढाउन आह्वान गरे।

सरकारले अघि सारेको “बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी” नारालाई आत्मसात गर्दै, छलफलले आगामी दिनमा नीति निर्माण, बजेट विनियोजन, र संस्थागत संरचना विकास मा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

१२ असार २०८२, बिहीबार ११:१२ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०