३० बैशाख २०८३, बुधबार
Follow us :

अमेरिकाको २० भन्दा बढी सहरमा ‘सोलफुल यु.एस.ए यात्रा’ गर्दै महेश र अस्मिता

कान्तिपुर प्रेस

गायिका अस्मिता अधिकारी र गायक महेश काफलेको संयुक्त साङ्गीतिक कार्यक्रम ‘सोलफुल यु.एस.ए यात्रा’ घोषणा भएको छ। उक्त साङ्गीतिक टुर सन् २०२५ को अगस्टदेखि अक्टोबरसम्म संयुक्त राज्य अमेरिकाका २० भन्दा बढी विभिन्न सहरहरूमा आयोजना हुनेछ । मङ्गलवार आयोजित पत्रकार भेटघाटमा उक्त जानकारी दिइएको हो ।

‘ओनेस्ट रियल इस्टेट’ द्वारा प्रस्तुत र ‘थ्री ई इन्टरटेन्मेन्ट’ द्वारा व्यवस्थापन गरिएको यो यात्रा कोलम्बस, ओहायो, मियामी, फ्लोरिडा, ब्रानफोर्ड, कनेक्टिकट, एशबर्न, भर्जिनिया, ल्यान्कास्टर, पेन्सिलभेनिया लगायतका २० भन्दा बढी अमेरिकी सहरहरूसम्म पुग्नेछ । महेश र अस्मिताको अमेरिकाको विभिन्न सहरहरूमा राम्रो डिमान्ड भएकाले पनि यो साङ्गीतिक यात्राको आयोजना गरिएको थ्री ई इन्टरटेन्मेन्टका नेपाल प्रतिनिधि अन्जान बुढाथोकीले जानकारी गराए ।

यता महेश र अस्मिताले पनि आफुहरु यो साङ्गीतिक टुरको लागी निकै नै उत्साहित रहेको बताए । अमेरिकामा रहेका नेपाली समुदायहरु माझ नजिक पुगेर गीत सुनाउने मौका रहेको भन्दै खुसी व्यक्त गरे । महेश र अस्मिताको ‘लजावती झार’, ‘नाच फिरिरि’ र ‘लाइटरले बिडी सल्केको’ जस्ता गीतहरू हिट छन्।

थ्री ई इन्टरटेन्मेन्टले धेरै ठुला कन्सर्ट, टुर र सांस्कृतिक कार्यक्रमहरू सफलतापूर्वक आयोजना गर्दै आएको छ। थ्री.ईले यस अघि आनी छोइङ डोल्मा, अभया एण्ड द स्टिम इन्जिन्स, काली प्रसाद बाँस्कोटा , इन्दिरा जोशी, प्रमोद खरेल र अञ्जु पन्त जस्ता चर्चित नेपाली कलाकारहरूको अमेरिका टुर गराई सकेको छ। साथै १९७४ एडीको लाइभ कन्सर्टसहित थुप्रै अन्तर्राष्ट्रिय स्तरका कार्यक्रमहरू पनि आयोजना गरेको छ। थ्री ईले सन् २०२२ देखि भर्जिनियामा “डिटिफेस्ट – दसैँ तिहार फेस्ट” नामक बृहत् सांस्कृतिक कार्यक्रम सञ्चालन गर्दै आएको छ। यस्तै, सन् २०१२, २०१३ र २०१७ मा “ग्लोबल नेपाल फेस्ट” आयोजना गरेर नेपाली संस्कृति, पर्यटन र व्यापारलाई अमेरिकामा चिनाउने ऐतिहासिक पहल गरिएको थियो।

२४ असार २०८२, मंगलवार १८:०९ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०