३ माघ २०८२, शुक्रबार
Follow us :

गोदावरी नगरपालिकाद्वारा अन्तर्राष्ट्रिय व्यापारको नयाँ यात्रा सुरु, कोसेली घर मार्फत उत्पादन अन्तर्राष्ट्रिय बजारमा पुर्याइने

कान्तिपुर प्रेस

“आर्थिक विकास र साझेदारीको नयाँ यात्रा” मूल नाराका साथ गोदावरी अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन संवाद–२०८२ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम गोदावरी नगरपालिकाको सहकार्यमा मेड इन नेपाल एक्स्पो अस्ट्रेलियाले आयोजना गरेको हो।

कार्यक्रममा प्रमुख आतिथिका रूपमा उपस्थित गोदावरी नगरपालिकाका नगर प्रमुख गजेन्द्र महर्जनले गोदावरी नगरलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने ऐतिहासिक प्रयासको सुरुआत  भएको घोषणा गर्नु भयो।

उहाँले नगरभित्र उत्पादन भएका सामग्रीहरूलाई प्रदर्शन र निर्यात प्रवर्द्धनका लागि ‘कोसेली घर’ स्थापना गरिने जानकारी दिनु भयो। “अब नगरभित्र उत्पादन हुने कुनै पनि सामग्री बेकार जान्ने छैन,” उहाँले भन्नु भयो।

उहाँले यो कार्यक्रमले संस्कृति, पर्यटन र उद्योगलाई एकसाथ अघि बढाउने अवसर प्रदान गरेको उल्लेख गर्दै स्थानीय उत्पादनको गुणस्तरीय विकास र विश्व बजारमा पहुँच सुनिश्चित गरिने प्रतिबद्धता जनाउनु भयो।

महिला उद्यमशिलता सबल, तर बजार अभाव चुनौती : उपप्रमुख अधिकारी

कार्यक्रममा नगर उपप्रमुख मुना अधिकारीले स्थानीय सरकारद्वारा सञ्चालित तालिम र गोष्ठीहरूले महिला उद्यमशीलता सबल बनाएको चर्चा गर्नुभयो।

तर उत्पादन भएको वस्तु बजारमा प्रविष्ट हुन नसक्दा उद्यमीहरू निराश बन्ने अवस्था रहेको उल्लेख गर्दै यस्ता संवादहरूले समस्या समाधानमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

नेपाली उत्पादन अष्ट्रेलियामा प्रतिस्पर्धी बन्न सक्छ : डीएन घिसिङ

नेपाल–अष्ट्रेलिया साझेदारी सम्भावना विषयमा डीएन घिसिङले अष्ट्रेलियामा नेपाली वस्तु निर्यात गर्न लागु हुने नीति र मापदण्डबारे विस्तृत प्रस्तुति दिनुभयो।

उहाँले मेड इन नेपाल एक्स्पो अष्ट्रेलिया को अनुभव बाँड्दै नेपाली हस्तकला, घरेलु उत्पादन तथा साना उद्योगका लागि अष्ट्रेलिया सम्भावनायुक्त बजार बन्ने विश्वास व्यक्त गर्नुभयो।

गुणस्तरीय उत्पादनमै विश्व बजारमा सम्भावना : उद्यमीहरूको धारणा

उद्यमी रचना श्रेष्ठले तालिमबाट सिकिएको सीप प्रयोग गरेर गुणस्तरअनुसार उत्पादन गरेमा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सकिने धारणा राख्नुभयो।

उद्यमी नारायण श्रेष्ठले नेपाली हेन्डिक्राफ्टको अन्तर्राष्ट्रिय बजारमा उच्च माग रहेको उल्लेख गर्दै सरकारहरूको सहकार्यबाट उत्पादन र निर्यात वृद्धि गर्न सकिने विश्वास व्यक्त गर्नुभयो।

अन्तर्राष्ट्रिय बजार प्रवर्धक राजेन्द्र श्रेष्ठले नयाँ सम्भावित बजार र निर्माण प्रविधिबारे प्रस्तुति दिनुभयो।

पर्यटन व्यवसायी दामोदर घिमिरेले हस्तकलालाई संस्कृति र पर्यटनसँग जोडेर अघि बढाउनु पर्नेमा जोड दिनुभयो।

घरेलु तथा साना उद्योग कार्यालय प्रमुख सन्तोष मोक्तानले सरकारी सुविधाहरूको उपयोग गर्न उद्यमीहरू सचेत बन्नुपर्ने कुरामा जोड दिनुभयो।

गोदावरी उद्योग वाणिज्य सङ्घ अध्यक्ष राजन महर्जनले सिप अभाव व्यवसायको प्रमुख चुनौती भएको धारणा राख्नुभयो।

इन्जिनियर उमेश कुमार गुप्ताले स्टार्टअप, स्वरोजगार र सरकारी कार्यक्रमबारे जानकारी दिनुहुँदै, प्रतिष्ठानले उद्यमीलाई निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्नुभयो ।

स्थानीय उद्यमीहरूको खुला छलफलमा सक्रिय सहभागिता कार्यक्रममा सहभागी स्थानीय उद्यमीहरूले आफ्ना अनुभव, समस्या र सुझावहरू खुला रूपमा प्रस्तुत गर्नुभयो। कार्यक्रमले अन्तर्राष्ट्रिय व्यापारमा स्थानीय तहको भूमिका, चुनौती र अवसरहरू उजागर गरेको निष्कर्षसहित भव्य रूपमा सम्पन्न भएको घोषणा गरियो।

 

 

 

 

 

२८ असार २०८२, शनिबार ०६:०८ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०