हेटौंडा, साउन १३ — नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताको चयनका लागि निर्वाचन प्रक्रिया साउन १४ गते बुधबार हुने भएको छ।
आज हेटौंडामा बसेको नेपाली कांग्रेस बागमती प्रदेश समितिको बैठकले सहमहामन्त्री हरिशरण श्रेष्ठको संयोजकत्वमा सहमहामन्त्रीद्वय ऋषिराम घिमिरे र जीवन डंगोल सदस्य रहने गरी तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ। सो समितिले दलको नेताको चयनका लागि आवश्यक निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो।
निर्वाचन समितिका संयोजक श्रेष्ठका अनुसार बुधबार बिहान ८ बजे मतदाताको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ। ८:३० देखि ९:०० बजेसम्म दाबी–विरोधका लागि समय छुट्याइएको छ भने त्यसपछि जाँचबुझ गरी अन्तिम नामावली ९:३० बजे सार्वजनिक गरिनेछ।उम्मेदवारी दर्तादेखि मतगणनासम्मका सम्पूर्ण प्रक्रिया सोही दिन सम्पन्न गरिने समितिले जनाएको छ।नेतृत्व चयनसँगै कांग्रेस बागमतीभित्रको आगामी राजनीतिक दिशा र आन्तरिक शक्ति सन्तुलन स्पष्ट हुने अपेक्षा गरिएको छ।












