हेटौंडा, साउन १४ — नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा सभापति इन्द्र बहादुर बानिया विजयी भएका छन्। कुल ३७ मतमध्ये २२ मत प्राप्त गर्दै उनले वर्तमान मुख्यमन्त्री बहादुर सिंह लामालाई पछि पारेका हुन । लामाले १४ मत मात्र पाएको निर्वाचन समितिका सदस्य बागमती सह -महामन्त्री ऋषिराम घिमिरेले जानकारी दिए । १ मत बदर भएको छ ।
बानियाको यो जितले बागमती प्रदेशको सत्ता समीकरणमा नयाँ मोड ल्याएको छ। संसदीय दलको नेतृत्व गुमाएका लामाको मुख्यमन्त्री पद पनि अब गम्भीर संकटमा परेको विश्लेषण गरिएको छ।

मुख्यमन्त्री लामाले आज बिहान आफ्नो सरकार बचाउन तीन जना नयाँ मन्त्री नियुक्त गरेका थिए, तर उनीहरूको शपथ ग्रहण नेकपा एमालेको दबाबका कारण अन्तिम समयमा रोकिनु लामाको राजनीतिक अस्थिरताको स्पष्ट संकेत बन्यो। गठबन्धनमै रहेका दलहरूको असहमति झल्किएको यो घटनाले सरकार भित्रैको दरार गहिरिएको देखिएको छ।
यसअघि साउन १३ गते, बानियाले मुख्यमन्त्री लामाविरुद्ध बागमती प्रदेशसभा सचिवालयमा दर्ता गरेको अविश्वासको प्रस्ताव पारित भएको थियो । सो प्रस्तावको सनाखत प्रक्रियामा बानियाको पक्षमा २२ र लामाको पक्षमा १५ सांसदले सनाखत गरेका थिए। सोही आधारमा मंगलबार कांग्रेस बागमती प्रदेश समितिको बैठकले तीन सदस्यीय निर्वाचन समिति गठन गरी आजको निर्वाचन सम्पन्न गराएको हो।
पार्टी सभापति समेत रहेका बानियाले लामाविरुद्ध कदम चाल्नुको कारण गत वर्षको सहमति कार्यान्वयन नहुनु रहेको बताइएको छ। सभापति शेरबहादुर देउवाको रोहबरमा बानिया र लामाबीच एक–एक वर्ष पालैपालो मुख्यमन्त्री बन्ने सहमति भएको थियो, तर लामा कार्यकाल सकिएपछि पनि पदबाट नहट्दा विवाद चुलिएको हो।
अब बानियाले संसदीय दलको नेतृत्व हात पारेसँगै मुख्यमन्त्री बन्ने बाटो औपचारिक रूपमा खुलेको छ। कांग्रेसले अन्य दलहरूसँगको समन्वयमार्फत सरकारको नयाँ संरचना बनाउने सम्भावना प्रबल देखिएको छ। यसले बागमती प्रदेशको राजनीति नयाँ चरणमा प्रवेश गर्ने संकेत दिएको छ।











