४ माघ २०८२, शनिबार
Follow us :

बुबाको मुख हेर्ने दिन : कुश पूजा, श्राद्ध र पितृ तर्पणसँगै मनाइँदै

कान्तिपुर प्रेस

हिन्दू धर्मावलम्बीहरूले आज कुशे औंसी अर्थात् ‘बुबाको मुख हेर्ने दिन’ धुमधामका साथ मनाइरहेका छन्।वर्षभरिका १२ औंसीमध्ये आजको औंसी विशेष मानिन्छ, किनभने यस दिन शास्त्रीय विधिअनुसार कुश छेदी पूजा गरी घर–घरमा भित्र्याइने परम्परा छ। यसै दिन बाबुप्रति आदर, माया र कृतज्ञता प्रकट गर्ने चलनका कारण यसलाई ‘पितृ दिवस’ पनि भनिन्छ।

आज बिहानैदेखि सन्तानहरूले आफ्ना पितालाई मीठा परिकार, फलफूल, लुगा र दक्षिणा अर्पण गर्दै आशिर्वाद लिएका छन्। घरमा उत्सवझैं माहोल सिर्जना हुने यो दिनमा टाढा–टाढाबाट समेत सन्तानहरू आ–आफ्ना पिताको मुख हेर्न, भेट्न र भोजन गराउन घर फर्कने परम्परा रहिआएको छ।

पिता दिवङ्गत भएका सन्तानहरूले भने गोकर्णधाम, बागमती, विष्णुमती, त्रिशूलीलगायतका पवित्र तीर्थस्थलमा पुगेर तर्पण, श्राद्ध र पिण्डदान गरी पितृहरूको चिरशान्तिको कामना गरेका छन्। गोकर्णधाममा आज विशेष मेला समेत लागेको छ।

सनातन वैदिक परम्पराअनुसार कुशलाई पवित्रताको प्रतीक मानिन्छ। आजको दिन ब्राह्मण पुरोहितहरूले कुश छेदी घर–घरमा पुर्‍याउने परम्परा छ, जसलाई वर्षभरि देवकार्य, श्राद्ध, यज्ञ तथा धार्मिक अनुष्ठानमा प्रयोग गरिन्छ।

‘पितृदेवो भवः’ अर्थात् पितालाई देवताजस्तै सम्मान गर्नुपर्छ भन्ने शास्त्रीय वचनले कुशे औंसीको धार्मिक–सांस्कृतिक महत्व अझ प्रगाढ बनाएको छ। धार्मिक विश्वासअनुसार जीवित पितालाई सम्मानपूर्वक खानपान गराएमा र दिवङ्गत पिताका नाममा श्राद्ध, तर्पण तथा दान गरेमा जीवनमा सुख–समृद्धि प्राप्त हुने विश्वास गरिन्छ।

७ भाद्र २०८२, शनिबार ०७:०२ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०