ललितपुर/ १६ भदौ: नेपाल टेक मार्केटले नेपालको फोहोरमैला ब्यवस्थापनका लागि आधुनिक (स्मार्ट) ‘सफ्टवेयर’ प्रणालीको सार्वजनिक गरेको छ।
आधुनिक प्रविधिको विकाससंगसंगै शहरी सरसफाईका लागि सहजता ल्याउने अभिप्रायले सोलिड वेष्ट एशोसियशन म्यानेजमेन्ट नेपाल, अपकोड नेपाल र नेपाल टेक मार्केटको सहकार्यमा फोहोर व्यवस्थापन प्रणाली सार्वजनिक गरिएको नेपाल टेक मार्केटका प्रमुख कार्यकारी अधिकृत चिरञ्जीवी अधिकारीले जानकारी दिनुभयो।
“यो पहल केवल प्रविधि मात्र होइन, सामाजिक जिम्मेवारीसँग जोडिएको हाम्रो सामूहिक संकल्प हो, फोहोर समस्या मात्र होइन, यसलाई सदुपयोग गरेर पुनः प्रयोग गर्ने, पुनर्चक्रण गर्ने, नयाँ प्रविधि ल्याउने, र दीगो समाधान सिर्जना गर्ने सुनौलो अवसर पनि हो।” अधिकारीले भन्नुभयो।
उहाँले यो प्रणाली उपभोक्ताको आवश्यकता र बजारको मागलाई ध्यानमा राखेर विकसित गरिएको बताउनुभयो। उहाँले यस प्रणालीमा कृत्रिम बुद्धिमत्ताको प्रयोग गरिएको जानकारी दिँदै यसले फोहोर व्यवस्थापनलाई अझ प्रभावकारी र सहज बनाउने विश्वास व्यक्त गर्नुभयो।
आज ललितपुरमा आयोजित कार्यक्रममा फोहोर ब्यवस्थापन प्रणाली बारे जानकारी दिनुहुँदै अपकोड नेपालका बरिष्ठ सफ्टवेयर इन्जिनियर मङ्गल कृष्ण प्रधानले फोहोरमैला ब्यवस्थापन प्रणालीलाई प्रयोगकर्ता मैत्री बनाउन नवीनतम प्रविधि र विश्वव्यापी प्रचलनहरू समावेश गरिएको बताउनुभयो।
“यो प्रणाली बलियो, सुरक्षित र प्रयोग गर्न सजिलो छ, यसले फोहोर सङ्कलन र व्यवस्थापनलाई अझ प्रभावकारी बनाउँछ, नेपालको भविष्यको नीति कागजमा मात्र होइन, सपना देख्ने, सिर्जना गर्ने र सहकार्य गर्ने हाम्रा हातमा लेखिन्छ, आज हामी केवल एउटा सफ्टवेयरको विकास मात्रै गरिरहेका छैनौँ, एउटा व्यवस्थापन प्रणालीको विकास गरेर सुन्दर र सुखी भविष्यका लागि अभियान सुरु गर्दैछौँ, सुन्दर र सफा शहरहरूको दिगो विकासको लागि सचेतनाका लागि नागरिकहरूको अभियानलाई सफल बनाउन लागिरहेका छौँ।” उहाँले भन्नुभयो।
इन्जिनियर प्रधानका अनुसार यो फोहोर व्यवस्थापन सफ्टवेयरको सम्भावित प्रयोगकर्ताहरू फोहोरमैला व्यवस्थापनमा काम गर्ने संस्थाहरू, घरयासी फोहोर उत्पादन गर्नेहरू, हस्पिटल, होटल, व्यवसायीहरु, विद्यालय, सरकारी संस्थाहरू आदि यो सफ्टवेयरका प्रयोगकर्ताहरु हुन्।यस सिस्टममार्फत प्रत्येक फोहोर व्यवस्थापन गर्ने कम्पनी, फोहोर उत्पादन गर्ने संघ संस्था, घरहरूबीच अन्तरसम्पर्क गर्न सकिनेछ । फोहोर व्यवस्थापन गर्न लाग्ने शुल्कको अनलाइन भुक्तानी गर्नु साथसाथै यो सिस्टमले नगरपालिकाको लागि पनि छुट्टै ड्यासबोर्ड उपलब्ध गराएको छ। नगरपालिकाका यूजरबाट आफ्नो नगर वडामा फोहोर व्यवस्थापनका के–के गतिविधिहरू भइरहेको छ भनेर थाहा पाउन सक्नेछ।
यो फोहोर व्यवस्थापन प्रणालीले नेपालमा फोहोर व्यवस्थापनको क्षेत्रमा नयाँ आयाम थप्ने लक्ष्य राखेको उहाँले जानकारी गराउनुभयो। यो प्रणालीमा फोहोर बोक्ने सवारीमा जिपिएस प्रणालीको उपयोग, फोहोरको वर्गीकरण अनुसार ब्यवस्थित पुनः उपयोगलाई जोड दिने जानकारी गराइएको छ।
नेपाल टेक मार्केटका प्रमुख व्यावसायिक अधिकृत सुष्मिता पौडेलले यस प्रणालीले प्रयोगकर्ताहरूबाट सकारात्मक प्रतिक्रिया पाएको बताउनुभयो।
“प्रविधिको उपयोगबाट हुने डिजिटल रुपान्तरणले जनजीवनलाई सहज बनाउँदै हरेक घर-घरलाई फोहोरको वर्गीकरण गर्न प्रेरित गर्छ, यसले स्थानीय तहहरुको कार्यक्षमता पनि बढ्छ, र सफा शहर कायम गर्दै समुदायलाई सबल बनाउन प्रेरित गर्छ।” उहाँले भन्नुभयो।
यस अभियानले नीति निर्माता, नगरपालिका, निजी क्षेत्र, नवप्रवर्तनकर्ता र समुदायलाई एकताबद्ध गराउँदै सफा र सुन्दर शहर निर्माणतर्फ ठोस कदम चाल्ने लक्ष्य राखेको जनाइएको छ।
यो प्रणालीमार्फत ‘सफा शहर अभियान’लाई दीर्घकालीन पहलको रूपमा स्थापित गर्ने, फोहर व्यवस्थापन प्रणाली नीति तथा रणनीतिक संवादलाई प्रवर्द्धन गर्ने, पुनर्चक्रण उद्योग र हरित रोजगारीका अवसर उजागर गर्ने, विद्यालय र समुदायमार्फत नागरिकलाई सक्रिय बनाउने, अन्तर्राष्ट्रिय अभ्यासलाई नेपालमा लागू गर्ने र सञ्चारमाध्यममार्फत प्रभाव सिर्जना गर्ने लक्ष्य राखिएको नेपाल टेक मार्केटका प्रमुख कार्यकारी अधिकृत चिरञ्जीवी अधिकारीले जानकारी गराउनुभयो।—











