२६ माघ २०८२, आईतवार
Follow us :

नेपाली कांग्रेस ललितपुरद्वारा Gen-Z आन्दोलनका मागलाई समर्थन, हिंसात्मक गतिविधिको निन्दा

कान्तिपुर प्रेस

ललितपुर, असोज ३। नेपाली कांग्रेस ललितपुर जिल्ला कार्यसमितिले भाद्र २३ गते भएको Gen Z आन्दोलनका मागलाई जायज ठहर गर्दै समर्थन जनाएको छ। तर आन्दोलनका क्रममा देखिएका हिंसात्मक गतिविधि र तोडफोड, आगजनी, कुटपिट, हत्या प्रयासलगायत आपराधिक घटनाको भने कडा निन्दा गरेको छ।बैठकले आन्दोलनमा उठाइएका भ्रष्टाचारविरोधी एजेन्डा र सुशासनका मागलाई सहमति जनाउँदै त्यसलाई पार्टीले आत्मसात गर्ने निर्णय गरेको हो। बैठकले भनेको छ– “Gen Z पुस्ताले उठाएका माग देशको आवश्यकता हो, तर हिंसा अस्वीकार्य छ।”

ललितपुर जिल्ला कांग्रेस कार्यालयमा भएको तोडफोड र आगजनीका कारण कम्प्युटर, फर्निचर, महत्वपूर्ण कागजातसहित करिब डेढ करोड रुपैयाँ बराबरको क्षति पुगेको विज्ञप्तिमा उल्लेख छ। यसबारे विस्तृत मूल्यांकनका लागि तीन सदस्यीय समिति गठन गरिएको छ, जसले ६ दिनभित्र प्रतिवेदन पेस गर्नेछ।

बैठकले नयाँ पुस्तालाई नेतृत्वमा अघि सार्नुपर्ने निष्कर्ष निकालेको छ। विशेषतः २०८२ सालमा हुने निर्वाचनलाई दृष्टिगत गर्दै युवापुस्तालाई संगठनमा समेट्ने र सशक्त बनाउनुपर्नेमा जोड दिएको छ।

संविधान दिवसको सन्दर्भमा कांग्रेस ललितपुरले २०६२/६३ को आन्दोलनको बलिदान र जनआन्दोलनबाट प्राप्त संविधानलाई जनतामैत्री बनाउन निरन्तर सुधार आवश्यक रहेको भन्दै शुभकामना व्यक्त गरेको छ।

३ आश्विन २०८२, शुक्रबार १६:३३ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०