२७ माघ २०८२, सोमबार
Follow us :

लोकतन्त्रको रक्षार्थ कांग्रेसको संकल्प: हिंसा र विघटनविरुद्ध न्यायिक छानबिनको माग  

कान्तिपुर प्रेस

नेपाली कांग्रेसले संविधान दिवसको अवसरमा आयोजित केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा संविधानमाथि भएको हिंसात्मक आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गर्दै उच्चस्तरीय न्यायिक छानबिन आयोग गठनको माग गरेको छ। पार्टीका उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बी.पी. स्मृति भवनमा सम्पन्न बैठकले लोकतन्त्रका आधार स्तम्भहरूमा भएको तोडफोड, आगजनी र लुटपाटलाई संविधान र लोकतन्त्रमाथिको गम्भीर चुनौतीको रूपमा चित्रित गरेको छ।

भाद्र २४ गतेको प्रदर्शनका क्रममा राष्ट्रपति भवन, सिंहदरबार, न्यायपालिका, व्यवस्थापिका, कार्यपालिकाका कार्यालयहरू, ऐतिहासिक स्थानहरू, लोकतान्त्रिक नेताहरूको निवास, पार्टी कार्यालयहरू तथा सर्वसाधारणको निजी सम्पत्तिमा भएको क्षतिलाई बैठकले कडा शब्दमा निन्दा गर्दै दोषीलाई कारबाहीको दायरामा ल्याउन न्यायिक आयोगको माग गरेको हो।

बैठकले पार्टी सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा तथा केन्द्रीय सदस्य डा. आरजु राणा देउवामाथि भएको भौतिक आक्रमण र निजी निवासमा गरिएको आगजनीप्रति गहिरो चिन्ता व्यक्त गर्दै शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।

जेनजी पुस्ताको प्रदर्शनमा ज्यान गुमाएका युवाहरू र सुरक्षाकर्मीप्रति श्रद्धाञ्जली अर्पण गर्दै बैठकले घाइतेहरूको उपचारमा गम्भीरता राख्न सरकारलाई आग्रह गरेको छ। घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने माग पनि दोहोर्याइएको छ।

संसद विघटनलाई असंवैधानिक ठहर गर्दै नेपाली कांग्रेसले संविधानमै समाधान खोज्नुपर्ने धारणा व्यक्त गरेको छ। संविधानको संरक्षण, संघीय लोकतान्त्रिक गणतन्त्रको स्थायित्व र समुन्नतिको मार्ग संविधानभित्रै रहेको पार्टीको दृढ विश्वास छ।

बैठकले भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूति तथा सामाजिक सञ्जाल सहजता जस्ता जेनजी पुस्ताले उठाएका मागहरूलाई विधिवत् सम्बोधन गर्ने प्रतिबद्धता पनि दोहोर्याएको छ।

संविधान दिवसको अवसरमा नेपाली कांग्रेसले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै संयम, एकता र पार्टी सुदृढीकरणको अपिल गरेको छ।

बैठकमा उपसभापति धनराज गुरूङ्ग, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री महालक्ष्मी उपाध्याय, महेन्द्र यादव, जीवन परियार, कोषाध्यक्ष उमेश श्रेष्ठ लगायतका नेताहरूले आ–आफ्नो धारणा राखेका थिए।

 

 

३ आश्विन २०८२, शुक्रबार २०:१७ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०