२ बैशाख २०८३, बुधबार
Follow us :

आर्थिक वर्ष सकिन लाग्दा अझै सम्झौता भएनन् सिँचाइका १० योजना

कान्तिपुर प्रेस

पर्वत । आर्थिक वर्ष सकिन तीन महिना मात्र बाँकी रहँदा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयअन्तर्गत सिँचाइसम्बन्धी योजना सम्झौता हुन सकेका छैनन् ।

चालु आर्थिक वर्षका लागि उपभोक्तामार्फत कार्यान्वयन गर्ने गरी बजेट विनियोजित भएको थियो ।

कार्यालयमार्फत चालु आवमा ७८ वटा सिँचाइ तथा नहर पुनर्स्थापना योजनाका लागि गण्डकी प्रदेश सरकारमार्फत १० करोड ४२ लाख बजेट विनियोजन भएको थियो ।

तीमध्ये २४ वटा योजना सम्पन्न भइसकेका छन् भने बाँकी ४४ वटा योजना कार्यान्वयनको चरणमा छन् । बाँकी १० योजना भने सम्झौता नै हुन नसकेको कार्यालय प्रमुख सागर भट्टराईले जानकारी दिए ।

उनका अनुसार, सम्बन्धित किसान तथा उपभोक्ता समितिको सहभागिता नहुँदा ती योजना सम्झौता प्रक्रियामै रोकिएका छन् । “सम्झौताका लागि पटकपटक सूचना गर्दा पनि किसान आउनुभएको छैन, यसले गर्दा केही योजना अघि बढ्न सकेका छैनन्,” उनले भने ।

उनका अनुसार, सम्झौता प्रक्रियामा सिँचाइ उपभोक्ता समिति गठन तथा दर्ता अनिवार्य हुनुका साथै प्रतिरोपनी एक सय रुपैयाँका दरले रकम जम्मा गर्नुपर्ने प्रावधान छ ।

गाउँस्तरमा उपभोक्ता समितिमा बस्ने व्यक्तिको अभाव, मूल्यवृद्धिका कारण नागरिकमा चासो घट्नु तथा प्रक्रियागत झन्झटले पनि सहभागिता कम भएको भट्टराईले जानकारी दिए ।

नेपाल किसान महासंघका अध्यक्ष रघुनाथ गौडेलले योजना सम्झौता नहुनुमा किसान मात्र दोषी नभएको बताए ।

“योजनाबारे समयमै पर्याप्त जानकारी नपुग्नु, लागत साझेदारीको स्पष्टता नहुनु र प्रक्रिया जटिल हुनुका कारण किसान अलमलमा परेका छन्,” उनले भने, “साना बजेटका योजनामा धेरै झन्झट र आर्थिक दायित्व हुँदा किसानको आकर्षण घटेको छ ।”

उनका अनुसार, पछिल्लो समय बढ्दो महँगी, कामदार अभाव र कृषि पेसाप्रति घट्दो रुचिले पनि किसानलाई योजना प्रक्रियामा सक्रिय हुन कठिन भएको छ ।

“किसानलाई सहज बनाउने गरी नीतिगत सुधार र सचेतना आवश्यक छ, नत्र यस्ता योजना कागजमै सीमित हुने जोखिम रहन्छ,” गौडेलले थपे ।

कार्यालयका अधिकांश योजना पाँच लाखदेखि ३५ लाखसम्मका छन् । बजेट आकार सानो हुनु र कामदार अभावका कारण कार्यान्वयनमा पनि चुनौती देखिएको छ ।

समयमै सम्झौता हुन नसक्दा सिँचाइ पूर्वाधार विस्तारमा ढिलाइ हुने र खेतीपाती प्रभावित हुने चिन्ता बढेको छ । कार्यालयले भने बाँकी योजनाका लागि पुनः समन्वय र सूचना जारी गरी सम्झौता प्रक्रिया अघि बढाउने तयारी गरेको जानकारी दिएको छ ।

२ बैशाख २०८३, बुधबार ११:१४ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०