काठमाडौँ । पछिल्लो समय चलचित्र ‘बोक्सीको घर’ मार्फत बक्स अफिसमा ऐतिहासिक सफलता हात पारेकी अभिनेत्री तथा निर्मात्री केकी अधिकारीले आफ्नो नयाँ चलचित्र ‘स्टेशन’को निर्माण कार्य औपचारिक रुपमा सुरु गरेकी छिन् ।
सोमबार अक्षय तृतीयाको अवसर पारेर ललितपुरस्थित बंगलामुखी मन्दिर परिसरमा चलचित्रको शुभमुहूर्त गरिएको हो ।मुहूर्त कार्यक्रममा चलचित्रका निर्देशक, निर्माता तथा प्राविधिक टोलीको उपस्थिति रहेको थियो ।
अभिनेत्री केकी अधिकारीले नयाँ वर्षको अवसर पारेर यो चलचित्र निर्माणको घोषणा गरेकी थिइन् । निर्माण घोषणासँगै सार्वजनिक गरिएको ‘थिम पोस्टर’ले चलचित्रको विषयवस्तुप्रति दर्शकमाझ कौतुहलता जगाएको छ । पोस्टरमा एउटा पुरानो काठको दराज र त्यहाँभित्र केही रहस्यमय सामग्रीहरू देखिन्छन् । यसले चलचित्र सोसल ड्रामामा आधारित रहने संकेत गरेको छ ।
२०८१ सालको सफल चलचित्र ‘बोक्सीको घर’ पछि केकीले सोही टिमसँगको सहकार्यलाई ‘स्टेशन’मा पनि निरन्तरता दिएकी छिन् । केकी अधिकारी फिल्मसको ब्यानरमा निर्माण हुने यस चलचित्रलाई सुलक्षण भारतीले निर्देशन गर्नेछन् । चलचित्रको कथा पनि स्वयं भारतीकै रहेको छ । चलचित्रका निर्माता बद्री अधिकारी हुन् ।
चलचित्रको मुहूर्त गरिए पनि निर्माण पक्षले यसमा अभिनय गर्ने कलाकारहरूको बारेमा भने अझैसम्म केही खुलाएको छैन । ‘स्टेशन’मा कुन कुन कलाकारले मुख्य भूमिका निर्वाह गर्नेछन् भन्ने कुरालाई गोप्य राख्दै निर्माण टिमले दर्शकमाझ कौतुहलता कायम राखेको छ ।
केकी आफैं चलचित्रमा देखिनेछिन् वा निर्मात्रीको रुपमा मात्र रहनेछिन् भन्ने विषय पनि अझै प्रस्ट भइसकेको छैन । तेस्रो सातादेखि छायाकंन सुरु गरिने तयारीमा रहेको यो चलचित्र आगामी भदौ १९ गते देशभरका सिनेमाघरमा रिलिज हुने निर्माण पक्षले जानकारी दिएको छ ।
‘बोक्सीको घर’ जस्तो सामाजिक र गम्भीर विषयवस्तुलाई दर्शकले रुचाएका कारण केकीको यो नयाँ प्रोजेक्ट ‘स्टेशन’लाई पनि निकै प्रतिक्षित चलचित्रको रुपमा हेरिएको छ ।










