काठमाडौँ । ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ‘झिँगेदाउ २’को असोज २ गतेबाट प्रदर्शनमा आउने भएको छ ।
निर्माण युनिटले मंगलबार फिल्मका ४ मुख्य कलाकार समावेश एक पोस्टर सार्वजनिक गर्दै फिल्म असोज २ गते संविधान दिवसको अवसरमा देशव्यापी प्रदर्शनमा आउने जानकारी दिएको हो ।
यसअघि दशैंको फूलपातीमा प्रदर्शनमा आउने भनिएपनि त्यो मितिमा फिल्म चलाउन निर्माताबिच होडबाजी देखिएपछि सुरक्षित मितिको रूपमा असोज २ रोजिएको निर्देशक ज्ञानेन्द्र देउजाले बताए । मंगलबार सार्वजनिक पोस्टरमा अभिनेत्रीद्धय केकी अधिकारी, आँचल शर्मा र अभिनेताद्धय महेश त्रिपाठी र कुशल बिष्ट देखिएका छन् ।
कपनगढी सिनेमा प्रालि र फिल्म क्रिउ नेपालको संयुक्त ब्यानरमा निर्माण भएको फिल्ममा सरोज खनाल, आर्यन सिग्देल, महेश त्रिपाठी, केकी अधिकारी, आँचल शर्मा, कुशल बिष्ट, वसुन्धरा भुसाल, चैत्यदेवी सिंह, हिँउवाला गौतम, विजय देउजा, आशा भुसाल, अभय राज बराल, आशिष पुरुष लगायतका कलाकारको अभिनय छ ।
निर्देशक ज्ञानेन्द्र देउजाको नै कथा रहेको फिल्मको पटकथा परिच्छेद सेन, गोविन्द फुयाँल र शिशिर चालिसेले लेखेका हुन् । रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, रामजी लामिछानेको कोरियोग्राफी, अर्जुन पोखरेलको संगीत, मित्र डि गुरुङको सम्पादन रहेको फिल्म काभ्रे, काठमाडौँ, भक्तपुर, साँखु, तनहुँ, बन्दीपुर, देवघाट, दोलखा, चित्लाङ, पालुङ र चितवनमा छायांकन गरिएको छ ।











