१७ जेष्ठ २०८३, आईतवार
Follow us :

इन्धनको मूल्य घटाउने अवस्था छैन: सरकारको स्पष्टिकरण

कान्तिपुर प्रेस

काठमाडौं–सरकारले पेट्रोलियम पदार्थ लगायतका इन्धनको मूल्य घटाउन सकिने अवस्था नरहेको स्पष्ट पारेको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले इन्डियन आयल कर्पोरेसन (आईओसी) ले तोकेको मूल्यअनुसार बिक्री गर्नुपर्ने भएकाले पेट्रोलियम पदार्थ लगायत इन्धनको मूल्य घटाउन सकिने अवस्था नरहेको बताएका हुन् ।

मंगलबार संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उनले सरकारले बाध्य भएर उक्त वस्तुहरूको मूल्य बढाउनुपर्ने अवस्था रहेको बताए ।

आम उपभोक्ताहरूले मूल्य वृद्धि नियन्त्रण गर्न सरकारलाई दबाब दिइरहेका छन् । तर सचिव राउतले अहिले पनि खाना पकाउने ग्यास, पेट्रोल लगायतका वस्तुहरूमा सरकारले घाटामा व्यापार गरिरहेको दाबी समेत गरे ।

स्वचालित मूल्यमा बिक्री गर्ने भने सरकारले पेट्रोल लगायतका इन्धनहरूको बिक्री गर्दा हालको भन्दा पनि बढी मूल्य पर्न जाने बताए । उनले सरकारले उपभोक्ताहरू मारमा नपरुन् भनेर नै स्वाचालित मूल्यअनुसार उक्त वस्तुको बिक्री नगरेको पनि बताए ।

सचिव राउतले भने, ‘कस्तो अवस्था छ भने महँगोमा किन्ने अनि सस्तोमा बिक्री हुँदै जाँदाखेरी यो पहिलोका सञ्चित मुनाफा पनि सकिएको छ । सरकारले बाध्य भएर मूल्यवृद्धिको कदम चाल्नुपरेको छ ।

पछिल्लो समय सरकार गठन भएपछि नियमित रूपमा मूल्यमा तलमाथि गर्ने काम भएको छ । तर पूर्ण रूपमा स्वचालितमा जाने हो भने यो मूल्य धेरै माथि जाने अवस्था हुन्छ । तर सरकारले अलि मूल्य तल नै राखेर काम गरेको छ ।’

सरकारले हाल नेपाल आयल निगमका कर्मचारीलाई बोनस दिने काम नगरेको पनि बताए । सचिव राउतले निगम मुनाफामा नभएकाले त्यहाँका कर्मचारीहरूले बोनस खाने अवस्था नरहेको बताए ।

२२ बैशाख २०८३, मंगलवार १६:१८ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०