काठमाडौं । चलचित्र ‘मालती मंगले’ले प्रिमियरमा सकारात्मक प्रतिक्रिया पाएको छ ।
चलचित्रले उठान गरेको विषयवस्तु र प्रस्तुतिलाई प्रमियरमा सिनेमा हेर्नेहरूले रुचाएको निर्माणपक्षले जानकारी दिएको छ । प्रिमियरपछि कलाकारहरूको अभिनयको पनि प्रशंसा भएको छ । विजय बराल, वर्षा राउतलगायत कलाकारको अभिनयको तारिफ गरिएको छ ।
चलचित्र हेर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पनि प्रिमियरमा पुगेका थिए । लामिछानेले नेपालमा भन्नै पर्ने कथा चलचित्रले उठाएको प्रतिक्रिया दिए ।
“मैले धेरै पछाडि चलचित्र हेर्ने मौका पाएँ । यो चलचित्र निकै राम्रो छ । कमेडी पनि छ, इमोसन पनि छ, कलाकारहरूको अभिनय तथा संवाद पनि राम्रो छ,” उनले पत्रकारहरूसँग भने, “आम दर्शक भएर हेर्दा यो चलचित्र निकै राम्रो छ । निर्देशक नयाँ भए पनि नयाँले बनाएको चलचित्र जस्तो लाग्दैन । म यो चलचित्र हेरेर हाँसे पनि, इमोसनल पनि भएँ ।”
कलाकार मदनकृष्ण श्रेष्ठले चलचित्र हेरेर प्रशंसा गरे । प्रिमियरमा कलाकार कृष्ण मल्ल, शर्मिला मल्ल, किरण केसी, यम बराल, सन्दीप क्षेत्रीलगायत कलाकारले चलचित्र हेरेर तारिफ गरेका छन् ।
‘मालती मंगले’लाई गायक रामकृष्ण ढकालले निर्माण गरेका हुन् । चलचित्रको कथा निर्देशक प्रकु पाण्डेय स्वयंले लेखेका हुन् । पटकथा तथा संवाद संयोग गुरागाईंले तयार पारेका हुन् ।
चलचित्रमा विजय, वर्षा र मेक्सम गौडेलका साथै प्रकाश घिमिरे, सरिता गिरी, नरिन थापा, मान्सु सापकोटा, सुस्मा निरौलालगायत कलाकारहरूको अभिनय रहेको छ ।












