३० बैशाख २०८३, बुधबार
Follow us :

राष्ट्रपति पौडेलद्वारा ‘नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा पुरस्कार’ वितरण, क–कसले पाए ?

कान्तिपुर प्रेस

काठमाडौँ । नेपाली गीत सङ्गीतमा लामो समयदेखि क्रियाशील गायकदेखि गीतकारसम्मले ‘नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा पुरस्कार २०८१’ प्राप्त गरेका छन् । नातिकाजी स्मृति समाजले शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले सम्मान तथा पुरस्कार प्रदान गरे ।

कार्यक्रममा ‘नातिकाजी राष्ट्रिय विशिष्ट सङ्गीत सम्मान २०८१’ ९ जनाले  प्राप्त गरे । सम्मानित हुनेहरूमा गीतकार नारायणकुमार आचार्य, गायक जुजुकानी रञ्जित, गीतकार वीरेन्द्र पाठक, गायक शशी गुरुङ, गायक गणेश पराजुली, गीतकार÷गायक÷संगीतकार डा. भीमार्जुन आचार्य, संगीतकार निर्वाण सि गुरुङ, गीतकार साबु गदाल र गीतकार तथा संगीतकार अष्ट लामा रहेका छन् ।

त्यस्तै, ‘नातिकाजी राष्ट्रिय सङ्गीत पुरस्कार २०८१’ ६ जनाले प्राप्त गरेका छन् । यो पुरस्कार प्राप्त गर्नेमा गीतकार मनोज खड्का, गायक रोशन गुरुङ, संगीतकार ताराप्रकाश लिम्बु, गायिका सरिता शाही, एरेन्जर चाँद सिंह र रेकर्डिष्ट महेश्वर राजभण्डारी रहेका छन् ।

कार्यक्रममा ‘नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार २०८१’ भने गायिका सहिमा श्रेष्ठ, गायक सुरेश लामा र गायिका विपना तामाङले लिँदा ‘नातिकाजी राष्ट्रिय शास्त्रीय सङ्गीत पुरस्कार २०८१’ शास्त्रीय संगीततर्फ एक मात्र व्यक्ति प्रमोद उपाध्यायले थापेका छन् ।

सोही अवसरमा ‘नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार २०८१’ पत्रकारिता क्षेत्रबाट दुई व्यक्ति अनन्त वाग्ले र गीता अधिकारी पुरस्कृत भए ।

नेपाली सङ्गीत क्षेत्रका शिखर पुरुष सङ्गीत महर्षि नातिकाजी श्रेष्ठको स्मृतिमा स्थापित यस समाजले हरेक वर्ष स्रष्टाहरूको पहिचान र प्रोत्साहनका लागि यस्तो सम्मान प्रदान गर्दै आएको समाजका अध्यक्ष शम्भुजित बास्कोटाले बताए ।

कार्यक्रममा सम्मानित तथा पुरस्कृत कलाकर्मीले स्वर्गीय नातिकाजीका ४ चर्चित गीत प्रत्यक्ष प्रस्तुत गरेका थिए ।

२५ बैशाख २०८३, शुक्रबार १५:३९ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०