३० बैशाख २०८३, बुधबार
Follow us :

थलापति विजयद्वारा मुख्यमन्त्रीकाे शपथ, मञ्चमै ३ वटा आदेशमा हस्ताक्षर

कान्तिपुर प्रेस

काठमाण्डाै – भारतको तमिलनाडुमा तमिलगा भेट्री कडगम (टीभीके) का अध्यक्ष सी जोसेफ विजयले मुख्यमन्त्री पदको शपथ लिनुभएको छ ।

तमिलनाडुका राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकरले चेन्नईको नेहरू रङ्गशालामा आज आयोजित समारोहमा विजयलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।

शपथ ग्रहण कार्यक्रममा कांग्रेस नेता राहुल गान्धी पनि सहभागी हुनुभयो । आजै टीभीकेका वरिष्ठ नेतासहित ९ जना मन्त्रीले पनि शपथ लिएका छन् ।

तमिल चलचित्र क्षेत्रका सुपरस्टार थलापति विजयका नामले चिनिने ५१ वर्षीय विजयले शपथ लिएसँगै तमिलनाडुमा झन्डै ६ दशकदेखि पालैपालो सत्ता चलाउँदै आएका द्रविड मुनेत्र कडगम (डीएमके) र अन्ना द्रविड मुनेत्र कडगम (एआईएडीएमके) को राजनीतिक वर्चस्व समाप्त भएको छ । ‘मास्टर’, ‘बीस्ट’ र ‘लियो’ जस्ता चलचित्रहरूबाट करोडौँ दर्शकको मन जितेका विजय अभिनयलाई छाडेर राजनीतिमा प्रवेश गर्नुभएको हो ।

मुख्यमन्त्री बनेलगत्तै जोसेफ विजयले मञ्चमै ३ वटा आदेशमा हस्ताक्षर गर्नुभएको छ । उहाँले प्रत्येक घरपरिवारलाई २०० युनिट निःशुल्क बिजुली उपलब्ध गराउने, लागूऔषध समस्यासँग जुध्न प्रत्येक जिल्लामा विशेष बल गठन गर्ने र महिला सुरक्षाका लागि विशेष कार्यदल गठन गर्ने आदेशमा हस्ताक्षर गर्नुभएको बीबीसी हिन्दीले जनाएको छ ।

२३४ सदस्यीय तमिलनाडु विधानसभामा टीभीकेले १०८ सिट जितेकाे थियाे । टीभीकेले १२० निर्वाचित सांसदको समर्थन पाएपछि राज्यपालले हिजो सरकार गठनका लागि आह्वान गर्नुभएको थियो ।

अब टीभीकेले कांग्रेससहितका सहयोगी दलहरूको समर्थनमा गठबन्धन सरकारको नेतृत्व गर्नेछ ।

२७ बैशाख २०८३, आईतवार १५:२७ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०