१७ जेष्ठ २०८३, आईतवार
Follow us :

‘आबाट आमा’ को सिक्वेलमा मलिका महत अनुबन्धित

कान्तिपुर प्रेस

काठमाडौँ । फिल्म ‘आ बाट आमा’को सिक्वेलमा अभिनेत्री मलिका महत अनुबन्धित भएकी छन्। आइतबार निर्देशक तथा निर्माता चन्द्र पन्तले उनलाई औपचारिक रूपमा ‘आ बाट आमा २’ का लागि अनुबन्ध गरेका हुन्।

यसअघि फिल्ममा रिश्ता गुरूङ र निकिता आचार्य अनुबन्ध भइसकेका थिए। मलिका भित्रिएसँगै फिल्मका प्रमुख अभिनेत्रीहरूको लाइनअप पूरा भएको निर्माण पक्षले जनाएको छ। पछिल्लो समय फिल्म ‘महाभोज’ मा देखिएकी मलिका दर्शकमाझ खासगरी म्युजिक भिडिओबाट अत्याधिक चर्चामा आएकी थिइन्।

विशेषगरी ‘फुलबुट्टे सारी’, ‘टाढा भए पनि’ लगायतका चर्चित म्युजिक भिडिओमा अभिनेता पल शाहसँग उनको जोडी निकै रूचाइएको थियो। यही कारण दर्शकले सामाजिक सञ्जालमा ‘पल शाहको जोडी मलिका महत कहिले?’ भन्ने चर्चा गरिरहेका थिए। निर्माण पक्षका अनुसार दर्शकको यही चाहनालाई सम्बोधन गर्दै मलिकालाई फिल्ममा अनुबन्ध गरिएको हो।

फिल्ममा पल शाह, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, विपना थापा, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट र नरेन खड्का यसअघि नै अनुबन्धित भइसकेका छन्।

निर्देशक पन्त स्वयंले कथा तथा पटकथा लेखेको फिल्म केही साताभित्र फ्लोरमा जाने तयारीमा छ। आगामी दसैंको अवसर पारेर असोज ३० गते प्रदर्शनमा ल्याउने लक्ष्य राखिएको फिल्मको अमेरिका र क्यानडाको प्रदर्शन अधिकार समेत बिक्री भइसकेको निर्माण पक्षले जनाएको छ। नेपालमा वितरण आरआर फिल्म्सले गर्नेछ भने डिजिटल अधिकार ओएसआरले लिएको छ।

आर्या इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा फिल्म बन्न लागेको हो। गत वर्ष प्रदर्शनमा आएको ‘आ बाट आमा’ ले घरेलु बक्स अफिसमा झन्डै १४ करोड रूपैयाँ ग्रस कमाइ गरेको थियो। त्यसको सिक्वेलका रूपमा निर्माण हुन लागेको ‘आ बाट आमा २’ ले अघिल्लो कथालाई निरन्तरता दिने निर्देशक पन्तले बताएका छन्।

१७ जेष्ठ २०८३, आईतवार १३:५४ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०