नेपाल टेलिकमका ग्राहकले अब कम्पनीका सिमकार्ड लगायतका सामग्री हुलाक सेवामार्फत आफ्नै घरदैलोमा प्राप्त गर्न सक्ने भएका छन् । नेपाल टेलिकमले ग्राहकलाई उपलब्ध गराउँदै आएको सिमकार्ड, विभिन्न कागजात, चिठीपत्र र दूरसञ्चार सेवामा प्रयोग हुने विभिन्न स्पेयर पार्ट्स लगायतका सामग्री हुलाक सेवामार्फत ढुवानी गर्ने सम्बन्धमा दुई संस्थाबिच सम्झौता भएको छ ।
बिहीबार भएको सम्झौता अनुसार आगामी साउन १ गतेदेखि हुलाक सेवा विभागमार्फत यी सामग्रीको ढुवानी सेवा सुरु गरिनेछ । यससँगै नेपाल टेलिकमका सेवाग्राहीले चाहेमा कम्पनीका सिमकार्ड लगायतका अन्य आवश्यक सामग्री हुलाक सेवामार्फत सिधै आफ्नो घरदैलोमा प्राप्त गर्न सक्नेछन् ।
उक्त सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट निमित्त प्रबन्ध निर्देशक रीना डंगोल र हुलाक सेवा विभागको तर्फबाट महानिदेशक मनमायाँ भट्टराई पंगेनीले हस्ताक्षर गरेका छन् ।
सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै निमित्त प्रबन्ध निर्देशक डंगोलले नेपाल टेलिकमले सेवाग्राहीलाई कम्पनीको कार्यालयमा उपस्थित नभएरै पनि विभिन्न सेवा उपलब्ध गराउने कार्यलाई प्राथमिकता दिइरहेको बताइन् । “नेपाल टेलिकम र हुलाक सेवा विभागबिचको यो सहकार्य कम्पनीका सेवाग्राहीको हितका लागि प्रभावकारी हुनेछ,” उनले भनिन् ।
त्यसैगरी हुलाक सेवा विभागकी महानिदेशक मनमायाँ भट्टराई पंगेनीले जनताको घरदैलोमा सेवा पुर्याउने सरकारी लक्ष्यलाई व्यवहारमा लागू गर्नका लागि विभागले विभिन्न कार्य गरिरहेको उल्लेख गरिन् । आगामी दिनमा नेपाल टेलिकमका सेवाग्राहीलाई अझ प्रभावकारी रूपमा सेवा प्रदान गर्न विभाग र कम्पनीबीचको सहकार्य अझै बढ्दै जाने उनको विश्वास छ । पङ्गेनीले भनिन्, “जनताको घरदैलोमा सेवा पुर्याउने सरकारी लक्ष्यलाई व्यवहारमा लागू गर्न विभाग प्रतिबद्ध छ ।”











