नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँबराबरको एक वर्षे ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४’ आज निष्कासन गर्दै छ। राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले एक सूचना जारी गर्दै अनलाइन बोलकबोल प्रणालीमार्फत आज दिउँसो ३ बजेसम्म आवेदन दिन सकिने जनाएको छ।
ऋणपत्रसम्बन्धी मुख्य बुँदाहरू:
-
भुक्तानी र ब्याज: ऋणपत्रको अवधि एक वर्षको हुनेछ। यसको साँवा १९ असार २०८४ मा भुक्तानी गरिनेछ भने ब्याजदर बोलकबोलमार्फत निर्धारण हुनेछ। ब्याज अर्धवार्षिक रूपमा भुक्तानी गरिनेछ।
-
लगानी सीमा: लगानीकर्ताले न्यूनतम पाँच करोड रुपैयाँ र त्यसपछि पाँच करोड रुपैयाँले भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।
-
सहभागी हुन पाउने संस्था: यो बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउने छन्।
-
धितो तथा अन्य सुविधा: उक्त ऋणपत्रलाई राष्ट्र बैंक तथा अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिनेछ। साथै, यसलाई वैधानिक तरलता अनुपात (SLR) र खुद तरल सम्पत्ति अनुपातमा गणना गर्न सकिने भए पनि अनिवार्य नगद मौज्दात (CRR) मा भने गणना गर्न मिल्ने छैन।
राष्ट्र बैंकले बोलकबोलबाट स्वीकृत भएको ब्याजदरका आधारमा ऋणपत्र बाँडफाँट गर्ने जनाएको छ।












