२३ असार २०८३, मंगलवार
Follow us :

महोत्तरीका उखु किसानले पाए करिब दुई अर्ब रुपैयाँ भुक्तानी

दुई चिनी उद्योगमार्फत बुझाइएको उखुको अधिकांश रकम वितरण, २० करोडभन्दा बढी अनुदान सिफारिस

आर्थिक ब्युरो

महोत्तरी । महोत्तरीका दुई चिनी उद्योगमा बुझाइएको उखुबापत किसानले करिब दुई अर्ब रुपैयाँ भुक्तानी पाएका छन्। जिल्ला प्रशासन कार्यालय महोत्तरीका अनुसार गौशाला नगरपालिका–१ स्थित एभरेष्ट सुगर एण्ड केमिकल इन्डष्ट्रिज र गौशाला–१२ स्थित सिद्धिविनायक सुगर एण्ड केमिकल इन्डष्ट्रिजमार्फत बुझाइएको उखुको एक अर्ब ७६ करोड ५२ लाख ४६ हजार ४५५ रुपैयाँ किसानलाई भुक्तानी गरिएको हो।

आर्थिक वर्ष २०८२/८३ मा दुवै उद्योगमा किसानले २८ लाख ६७ हजार ९८६ क्विन्टल ९६ किलो उखु बुझाएका थिए। सो उखुको कुल मूल्य एक अर्ब ७७ करोड ३४ लाख ३७ हजार २३२ रुपैयाँ रहेकोमा अधिकांश रकम किसानले प्राप्त गरिसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

कार्यालयका प्रशासकीय अधिकृत कामेश्वर यादवका अनुसार सरकारले उपलब्ध गराउने उखु अनुदानबापत २० करोड सात लाख ५९ हजार ११७ रुपैयाँ भुक्तानीका लागि कोष तथा लेखा नियन्त्रक कार्यालय महोत्तरीमा सिफारिस गरिएको छ।

उखु किसानलाई अनुदान भुक्तानीका लागि प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको जिल्ला भुक्तानी समितिले सिफारिस गर्ने व्यवस्था रहेको छ। जिल्ला प्रशासन कार्यालयले यस वर्षको उखु मूल्य र सरकारी अनुदान दुवै असार मसान्तभित्रै भुक्तानी सम्पन्न हुने जनाएको छ।

२३ असार २०८३, मंगलवार ०७:१६ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०