२३ असार २०८३, मंगलवार
Follow us :

नेपाल र एडीबीबीच २२ अर्ब रुपैयाँको सहुलियतपूर्ण ऋण सम्झौता

खानेपानी, ढल व्यवस्थापन र भन्सार आधुनिकीकरणका दुई आयोजनामा लगानी हुने

आर्थिक ब्युरो

काठमाडौँ ।नेपाल सरकार र एसियाली विकास बैंक (एडीबी)बीच करिब २२ अर्ब रुपैयाँ (१६ करोड ५० लाख अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण सम्झौता भएको छ। सोमबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा दुई छुट्टाछुट्टै आयोजनाका लागि सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो।

एडीबीका अध्यक्ष मासातो कान्डाको नेपाल भ्रमणका अवसरमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र अध्यक्ष कान्डाको उपस्थितिमा सम्झौता सम्पन्न भएको हो। नेपाल सरकारका तर्फबाट अर्थ सचिव डा. घनश्याम उपाध्याय तथा एडीबीका तर्फबाट नेपालस्थित आवासीय नियोगका देशीय निर्देशक आनो कुश्वाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

सरकारले ऋण सहयोगमार्फत भन्सार प्रणालीलाई प्रविधिमैत्री बनाउँदै जोखिममा आधारित जाँचपास प्रणाली लागू गर्ने, व्यापार लागत घटाउने तथा सीमापार व्यापारलाई थप व्यवस्थित र पूर्वानुमानयोग्य बनाउने लक्ष्य लिएको छ। यसबाट रोजगारी सिर्जना र क्षेत्रीय मूल्य शृङ्खलामा नेपालको सहभागिता विस्तार हुने अपेक्षा गरिएको छ।

सम्झौता कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको विकासमा एडीबीले पुर्‍याउँदै आएको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा साझेदारी अझ सुदृढ हुने विश्वास व्यक्त गरे। एडीबीका अध्यक्ष मासातो कान्डाले पनि नेपालसँगको छ दशक लामो सहकार्यलाई निरन्तरता दिँदै विकासका प्राथमिकतामा सहयोग गर्न एडीबी प्रतिबद्ध रहेको बताए।

कुन आयोजनामा कति लगानी?

सम्झौताअनुसार ११ करोड ५० लाख अमेरिकी डलर एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजनामा खर्च गरिनेछ। यसअन्तर्गत साना तथा मझौला सहरमा खानेपानी पूर्वाधार विस्तार र ढल व्यवस्थापन सुधार गरिनेछ। आयोजनाबाट १३ जिल्लाका करिब ८ लाख ५० हजार नागरिक प्रत्यक्ष लाभान्वित हुने अनुमान गरिएको छ।

यस्तै, बाँकी ५ करोड अमेरिकी डलर दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग तथा आपूर्ति संयन्त्र सुधार कार्यक्रमअन्तर्गत खर्च गरिनेछ। यो रकम भन्सार प्रशासनको आधुनिकीकरण, व्यापार सहजीकरण तथा आपूर्ति शृङ्खलाको क्षमता अभिवृद्धिमा उपयोग गरिने जनाइएको छ।

२३ असार २०८३, मंगलवार ०७:२९ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०