२६ असार २०८३, शुक्रबार
Follow us :

सरकार–निजी क्षेत्र संवाद : प्रधानमन्त्रीको भरोसाले व्यावसायिक मनोबल फर्किएला ?

कान्तिपुर प्रेस

प्रधानमन्त्री वालेन्द्र शाहले सरकार निजी क्षेत्रसँग सहकार्य गर्दै लगानीमैत्री वातावरण निर्माण गर्न प्रतिबद्ध रहेको बताएका छन्। सरकार गठनपछि पहिलो पटक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित छलफलमा उहाँले मुलुकको आर्थिक विकास, उत्पादन वृद्धि र रोजगारी सिर्जनामा निजी क्षेत्रको भूमिका नेतृत्वदायी रहने स्पष्ट पार्नुभयो।

प्रधानमन्त्री शाहले उद्योग–व्यवसाय सञ्चालनमा देखिएका नीतिगत तथा प्रक्रियागत अवरोध हटाउँदै व्यावसायिक वातावरण सुधार गर्न सरकार तयार रहेको बताउनुभयो। आर्थिक गतिविधि चलायमान बनाउन निजी क्षेत्र सरकारको महत्त्वपूर्ण साझेदार भएको उल्लेख गर्दै उहाँले उद्यमी–व्यवसायीले भोगिरहेका व्यावहारिक समस्या समाधानमा सरकार गम्भीर रहेको धारणा राख्नुभयो।

लामो समयदेखि आर्थिक मन्दी, बजारमा मागको कमी, नयाँ लगानीमा सुस्ती तथा खस्किएको व्यावसायिक मनोबलका कारण चुनौती झेलिरहेको निजी क्षेत्रले प्रधानमन्त्रीसँगको संवादलाई सकारात्मक रूपमा लिएको छ। सहभागी उद्योगी–व्यवसायीहरूले प्रधानमन्त्रीको अभिव्यक्तिले नयाँ आशा र आत्मविश्वास थपिएको प्रतिक्रिया दिएका छन्।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले प्रधानमन्त्रीले निजी क्षेत्रमाथि धरपकड गर्ने सरकारको कुनै नीति नरहेको स्पष्ट पारेको बताउँदै उद्योग–व्यवसायको वातावरण सुधारका लागि सरकारसँग सहकार्यको अपेक्षा व्यक्त गर्नुभयो। छलफलका क्रममा आर्थिक अपराधका मुद्दामा अग्रिम जमानतको व्यवस्था, प्रक्रियागत जटिलता हटाउने कानुनी सुधार तथा उद्योगमैत्री नीतिको आवश्यकता पनि उठाइएको थियो।

नेपाल उद्योग परिसङ्घका पूर्वअध्यक्ष राजेशकुमार अग्रवालले प्रधानमन्त्री व्यावहारिक समाधान खोज्न केन्द्रित रहेको बताउँदै लगानी, उत्पादन र रोजगारी विस्तारका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य अझ मजबुत हुने विश्वास व्यक्त गर्नुभयो।

प्रधानमन्त्री शाहले प्राप्त सुझावहरूलाई कार्यान्वयनका लागि सम्बन्धित निकायमार्फत आवश्यक सहजीकरण गरिने र आर्थिक सुधारको अभियानमा निजी क्षेत्रसँग निरन्तर संवाद अघि बढाइने प्रतिबद्धता जनाउनुभयो।

बैठकमा नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्सलगायत प्रमुख निजी क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

२५ असार २०८३, बिहीबार ०७:१४ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०