नेपाली चलचित्र ‘गौँथली’ आगामी साउन १ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ। झन्डै २५ वर्षअघि निर्माण भएको सोही नामको चर्चित गीतिकथाबाट प्रेरित नयाँ संस्करणलाई निर्देशक डा. कपिल रिजाल ले निर्देशन गरेका हुन्।
चलचित्रले सानै उमेरमा विवाह गर्न बाध्य भएकी एक बालिकाको शिक्षा हासिल गर्ने सपना, वैवाहिक जीवनका चुनौती र पारिवारिक संघर्षलाई मार्मिक रूपमा प्रस्तुत गरेको छ। कथामा बालविवाह, महिला शिक्षा, घरेलु हिंसा र सामाजिक यथार्थलाई मुख्य विषय बनाइएको छ।
चलचित्रमा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा लगायत कलाकारहरूको अभिनय रहेको छ। चलचित्रको कथा डा. भोला रिजालको हो भने निर्माण तथा निर्देशन डा. कपिल रिजालले गरेका हुन्।
प्रदर्शन मिति नजिकिँदै जाँदा चलचित्रको ट्रेलर र पोस्टरले दर्शकमाझ राम्रो चर्चा बटुलिरहेको छ। युट्युबमा सार्वजनिक ट्रेलर पनि ट्रेन्डिङमा परेसँगै चलचित्रप्रति उत्साह बढेको निर्माण टिमले जनाएको छ।











