३२ असार २०८३, बिहीबार
Follow us :

शेयर बजार सुधार्न अर्थ समितिको निर्देशन, नेप्से पुनर्संरचनामा जोड

कान्तिपुर प्रेस

प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिले पूँजीबजार सुधार र लगानीकर्ताको विश्वास पुनःस्थापित गर्न सरकारलाई आवश्यक कदम चाल्न निर्देशन दिएको छ। समितिले अर्थ मन्त्रालय र नेपाल धितोपत्र बोर्ड (सेबोन) लाई बजारको आधुनिकीकरण, पारदर्शिता र संरचनागत सुधारलाई प्राथमिकतामा राखेर काम गर्न आग्रह गरेको हो।

समितिले जारी गरेको निर्देशनमा पूँजीबजारलाई समयानुकूल बनाउँदै नयाँ वित्तीय उपकरणको विकास र विस्तार गर्न जोड दिइएको छ। यसबाट लगानीकर्ताका लागि लगानीका विकल्प बढ्ने र बजार थप प्रतिस्पर्धी तथा आकर्षक बन्ने अपेक्षा गरिएको छ।

यस्तै, सरकारी स्वामित्वमा रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुनर्संरचनासम्बन्धी प्रक्रिया छिटो अघि बढाउन पनि समितिले सरकारलाई निर्देशन दिएको छ। लामो समयदेखि चर्चामा रहेको नेप्सेको पुनर्संरचना र रणनीतिक साझेदारीसम्बन्धी विषयलाई अब कार्यान्वयनतर्फ लैजानुपर्ने समितिको धारणा छ।

समितिले बजारमा हुनसक्ने अवाञ्छित गतिविधि नियन्त्रण गर्न नियामक निकायको भूमिका प्रभावकारी बनाउन तथा पारदर्शी नियमन प्रणाली लागू गर्न पनि जोड दिएको छ।

पछिल्लो समय शेयर बजारमा देखिएको अस्थिरताका कारण लगानीकर्ताको मनोबल कमजोर बनेको उल्लेख गर्दै समितिले लगानीकर्ताको विश्वास बढाउने गरी नीति तथा कार्यक्रम कार्यान्वयन गर्न अर्थ मन्त्रालय र सेबोनलाई सचेत गराएको छ। समितिको निर्देशनलाई पूँजीबजार सुधारतर्फको महत्त्वपूर्ण पहलका रूपमा हेरिएको छ।

३२ असार २०८३, बिहीबार ०७:२३ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०