प्रधानमन्त्रीले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्ने भएका छन्।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहान साढे ११ बजे हुने छलफलमा नेपालको हस्तकला क्षेत्रको संरक्षण, विस्तार र प्रवर्द्धनका विषयमा विचारविमर्श हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
छलफलमा नेपाल हस्तकला महासंघका अध्यक्ष रविन्द्र शाक्य, वरिष्ठ उपाध्यक्ष राजमान बज्राचार्य, उपाध्यक्ष किरणकुमार स्थापित, सल्लाहकार विकासरत्न ढाक्वा तथा शीर्ष निर्यातकर्ता महेश्वर श्रेष्ठलगायतको सहभागिता रहनेछ।
यसअघि प्रधानमन्त्रीले उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल निर्माण व्यवसायी महासंघ, फुटवेयर एसोसिएसन, सेयर लगानीकर्ता तथा तयारी पोसाक उद्योग संघलगायत विभिन्न निजी क्षेत्रका प्रतिनिधिसँग पनि छलफल गरिसकेका छन्।











