गर्मी बढेसँगै नेपालीहरूको रोजाइमा परम्परागत पेय ‘मही’ फेरि लोकप्रिय बन्दै गएको छ। कुनै समय गाउँघरका किसानको दैनिक जीवनसँग जोडिएको मही अहिले स्वास्थ्यप्रेमी, चिकित्सक र युवा पुस्ताको पनि रोजाइ बन्न थालेको हो।कृत्रिम पेय पदार्थप्रति बढ्दो सावधानी र प्राकृतिक खानाप्रतिको आकर्षणले महीको माग बढेको छ। काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत डिडिसीका उत्पादन प्रयोग गर्न आग्रह गरेपछि महीप्रति युवापुस्ताको आकर्षण झनै बढेको देखिएको छ। हालै राष्ट्रिय स्वतन्त्र पार्टीको चितवनमा सम्पन्न महाधिवेशनमा हजारौँ लिटर मही बिक्री भएको थियो।
केही वर्षअघिसम्म गाउँघरमा सीमित रहेको मही अहिले स्वास्थ्यवर्धक प्राकृतिक पेयका रूपमा देशभर लोकप्रिय बन्दै गएको छ।महीको महत्व प्राचीन धार्मिक ग्रन्थहरूमा समेत उल्लेख गरिएको छ। परम्परागत रूपमा गाई वा भैँसीको दुधबाट दही जमाई घिउ निकालेपछि बाँकी रहने तरल पदार्थ अर्थात् मही किसानका लागि तिर्खा मेटाउने मात्र होइन, ऊर्जा दिने पेयका रूपमा प्रयोग हुँदै आएको छ।
आयुर्वेद चिकित्सक डा. मनोजकुमार चौधरीका अनुसार महीमा क्याल्सियम, प्रोटिन, भिटामिन र प्रोबायोटिक तत्व प्रशस्त पाइन्छ। यसले पाचन प्रणालीलाई स्वस्थ राख्नुका साथै आन्द्राको स्वास्थ्य सुधार गर्न, शरीरमा पानीको सन्तुलन कायम गर्न र हड्डी बलियो बनाउन मद्दत गर्ने उहाँको भनाइ छ।
पछिल्लो समय डिडिसीसहित निजी डेरी उद्योगहरूले पनि प्याकेटबन्द मही बजारमा ल्याइरहेका छन्। नेपाल डेरी एसोसिएसनका अनुसार देशभरका करिब ५० उद्योगले दैनिक करिब एक लाख लिटर मही उत्पादन तथा बिक्री गरिरहेका छन्।
स्वास्थ्य, संस्कृति र पोषणलाई एउटै गिलासमा समेट्न सफल महीलाई यसको प्राकृतिक गुणस्तर जोगाउँदै प्रवर्द्धन गर्न सके यसले नेपाली पहिचान बोकेको महत्वपूर्ण पेय पदार्थका रूपमा अझ ठूलो स्थान बनाउन सक्ने विश्वास गरिएको छ।











