देशभर फैलिएको बर्डफ्लुको संक्रमण अहिले नियन्त्रणउन्मुख देखिएको छ।संघीय राजधानी काठमाडौंसहित विभिन्न जिल्लामा बर्डफ्लु देखिएपछि पन्छीपालन व्यवसाय प्रभावित बनेको थियो। संक्रमणका कारण किसानले ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको थियो भने संक्रमित पन्छी नष्ट गर्नुपर्ने अवस्था आएको थियो।
तर, पशु सेवा विभागका अनुसार साउन १ गतेयता देशमा बर्डफ्लुको नयाँ संक्रमण पुष्टि भएको छैन। विभागले संक्रमण नियन्त्रणका लागि अपनाइएका रोकथाम तथा निगरानीका उपाय प्रभावकारी बन्दै गएको जनाएको छ।पछिल्लो पटक काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजल क्षेत्रमा बर्डफ्लुको संक्रमण पुष्टि भएको थियो। त्यसपछि भने नयाँ संक्रमित क्षेत्र फेला नपरेको विभागले जनाएको छ।यद्यपि, सम्बन्धित निकायले किसानलाई जैविक सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्न र पन्छीमा कुनै अस्वाभाविक लक्षण देखिए तत्काल जानकारी गराउन आग्रह गरेको छ।
बर्डफ्लुको संक्रमण नियन्त्रणमा आउन थालेसँगै पन्छीपालन व्यवसायीले राहतको अनुभूति गर्न थालेका छन्। तर, संक्रमण पूर्ण रूपमा अन्त्य नभएसम्म सतर्कता भने उत्तिकै आवश्यक रहेको विभागको भनाइ छ।











