काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले काठमाडौंमा आत्मदाह प्रयासपछि उपचारका क्रममा ज्यान गुमाएका मुगुका गणेश नेपालीको परिवारलाई एक लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन्।कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिअनुसार सभापति थापाले आफ्नो व्यक्तिगत तर्फबाट राहतस्वरूप उक्त रकम उपलब्ध गराएका हुन्।
सभापति थापाले स्वर्गीय गणेश नेपालीप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनको आत्माको चिरशान्तिको कामना गरेका छन्। साथै, शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना पनि व्यक्त गरेका छन्। मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीले २५ असारमा काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडिको सडकमा मोटरसाइकलबाट पेट्रोल निकालेर आफैंलाई आगो लगाएका थिए। गम्भीर घाइते भएका उनको उपचारका क्रममा भोलिपल्ट वीर अस्पतालमा निधन भएको थियो।











