१२ श्रावण २०८३, मंगलवार
Follow us :

तरलता व्यवस्थापन तीव्र, अन्तरबैंक कारोबार भने अघिल्लो वर्षको तुलनामा घट्यो

विदेशी विनिमय कारोबार बढ्दा अन्तरबैंक कारोबार घट्यो

आर्थिक ब्युरो

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा ३९१ खर्ब ७० करोड रुपैयाँ बराबरको खुद तरलता प्रशोचन गरेको जनाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा २१३ खर्ब ४० अर्ब ६० करोड रुपैयाँ बराबरको तरलता प्रशोचन गरिएको थियो। यससँग तुलना गर्दा चालु वर्षमा तरलता व्यवस्थापनको परिमाण उल्लेखनीय रूपमा बढेको देखिएको छ।

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार समीक्षा अवधिमा निक्षेप सङ्कलन बोलकबोलमार्फत ३३ खर्ब २९ अर्ब रुपैयाँ, स्थायी निक्षेप सुविधामार्फत ३५५ खर्ब ८४ अर्ब २० करोड रुपैयाँ तथा नेपाल राष्ट्र बैंक ऋणपत्रमार्फत दुई सय अर्ब रुपैयाँ गरी कुल ३९१ खर्ब १३ अर्ब २० करोड रुपैयाँ बराबरको तरलता प्रशोचन गरिएको हो।

राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा ओभरनाइट तरलता सुविधामार्फत १२ अर्ब ५० करोड रुपैयाँ तरलता प्रवाह गरिएकाले खुद तरलता प्रशोचन ३९१ खर्ब ७० करोड रुपैयाँ पुगेको हो।

यसै अवधिमा राष्ट्र बैंकले विदेशी विनिमय बजारबाट वाणिज्य बैंकमार्फत अमेरिकी डलर ७ अर्ब ४ करोड खुद खरिद गर्दै १० खर्ब २६ अर्ब ३ करोड रुपैयाँ बराबरको तरलता प्रवाह गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर ५ अर्ब खुद खरिद गरी ६ खर्ब ७३ अर्ब २५ करोड रुपैयाँ बराबरको तरलता प्रवाह गरिएको थियो।

यस्तै, समीक्षा अवधिमा अमेरिकी डलर ४ अर्ब २८ करोड बिक्री गरी ६ खर्ब २५ अर्ब ५० करोड रुपैयाँ बराबरको भारतीय रुपैयाँ खरिद गरिएको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर ३ अर्ब ४६ करोड बिक्री गरी ४ खर्ब ७१ अर्ब ३९ करोड रुपैयाँ बराबरको भारतीय रुपैयाँ खरिद गरिएको थियो।

उता, अन्तरबैंक कारोबारमा भने गिरावट आएको छ। चालु आर्थिक वर्षको ११ महिनामा वाणिज्य बैंकहरूबीच ८ खर्ब ९३ अर्ब ४१ करोड रुपैयाँ र अन्य वित्तीय संस्थाबीच १ खर्ब ४६ अर्ब ३५ करोड रुपैयाँ गरी कुल १० खर्ब ३९ अर्ब ७६ करोड रुपैयाँको अन्तरबैंक कारोबार भएको छ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूबीच १५ खर्ब ३१ अर्ब २१ करोड रुपैयाँ तथा अन्य वित्तीय संस्थाबीच १ खर्ब ५० अर्ब ३३ करोड रुपैयाँ गरी कुल १६ खर्ब ८१ अर्ब ५४ करोड रुपैयाँको अन्तरबैंक कारोबार भएको थियो। यसले बैंकिङ प्रणालीमा अन्तरबैंक कारोबार अघिल्लो वर्षको तुलनामा उल्लेख्य रूपमा घटेको देखाएको छ।

१२ श्रावण २०८३, मंगलवार २०:२७ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०