१३ श्रावण २०८३, बुधबार
Follow us :

चिकित्सा शिक्षा आयोगको ६ अर्ब ५५ करोड बजेट स्वीकृत

चिकित्सा शिक्षा आयोगले आर्थिक वर्ष २०८३/८४ का लागि ६ अर्ब ५५ करोड २५ लाख ९८ हजार रुपैयाँको कार्यक्रम तथा बजेट स्वीकृत गरेको छ।

कान्तिपुर प्रेस

काठमाडौं । चिकित्सा शिक्षा आयोगले चालु आर्थिक वर्ष २०८३/८४ का लागि ६ अर्ब ५५ करोड २५ लाख ९८ हजार रुपैयाँ बराबरको कार्यक्रम तथा बजेट स्वीकृत गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको आयोगको २७औँ बैठकले उक्त बजेट स्वीकृत गरेको हो। बैठक प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा सम्पन्न भएको थियो।

आयोगका सूचना अधिकारी अर्जुन ढकालका अनुसार स्वीकृत बजेटमध्ये नेपाल सरकारबाट विनियोजित रकम ५ अर्ब ९९ करोड २१ लाख रुपैयाँ रहेको छ भने आयोगको आन्तरिक स्रोतबाट ५६ करोड ४ लाख ९८ हजार रुपैयाँ परिचालन गरिनेछ।

आयोगले आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म आन्तरिक स्रोतमा बचत रहेको ९९ करोड ८५ लाख ९६ हजार २६७ रुपैयाँ तथा चालु आर्थिक वर्षमा विभिन्न आन्तरिक स्रोतबाट प्राप्त हुने अनुमान गरिएको ३५ करोड रुपैयाँमध्ये ५६ करोड ४ लाख ९८ हजार रुपैयाँ खर्च गर्ने निर्णय गरेको जनाएको छ।

स्वीकृत बजेटमध्ये आन्तरिक स्रोततर्फ चालु खर्चका लागि ४७ करोड ४२ लाख ९८ हजार रुपैयाँ र पुँजीगत खर्चतर्फ ८ करोड ६२ लाख रुपैयाँ विनियोजन गरिएको छ।

बैठकमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता, आयोगका उपाध्यक्ष प्रा. डा. देवेन्द्रबहादुर खत्री तथा सदस्य सचिव एवं सहसचिव वसन्तप्रसाद कोइरालालगायतको सहभागिता रहेको थियो।

आयोगले स्वीकृत बजेटमार्फत चिकित्सा शिक्षा क्षेत्रको नियमन, गुणस्तर सुधार तथा अन्य प्राथमिक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।

१३ श्रावण २०८३, बुधबार १५:१२ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०