१४ श्रावण २०८३, बिहीबार
Follow us :

एनआरएनलाई दोस्रो बजारमा लगानी खुलाउने तयारी, बोर्ड सक्रिय

धितोपत्र बोर्ड–एनआरएनबीच छलफल, पूर्वाधारमा लगानी गर्न आईपीओ र ऋणपत्र जारी गर्ने योजना

कान्तिपुर प्रेस सम्वाददाता

काठमाडौं। नेपाल धितोपत्र बोर्ड र गैर-आवासीय नेपाली (एनआरएन) का प्रतिनिधिबीच धितोपत्र बजारमा एनआरएनको सहभागिता विस्तार तथा लगानीका अवसरबारे छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा एनआरएनलाई धितोपत्रको दोस्रो बजारमा सहभागी गराउने विषयमा कानुनी तथा नीतिगत सुधारका उपायबारे विस्तृत छलफल भएको हो।

कार्यक्रममा धितोपत्र बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टले नेपाल सरकारले बजेट वक्तव्यमार्फत गैर-आवासीय नेपालीलाई धितोपत्रको दोस्रो बजारमा लगानी गर्न कानुनी व्यवस्था सुधार गर्ने लक्ष्य अघि सारेको स्मरण गराए। उनले सोही लक्ष्यअनुसार आर्थिक वर्ष २०८३/८४ को पूँजी बजार नीतिमा समेत उक्त विषय समावेश गरी आवश्यक प्रक्रिया अघि बढाइने जानकारी दिए।

अध्यक्ष डा. भट्टले विदेशमा रहेका नेपालीले आर्जन गरेको सीप, अनुभव, ज्ञान र पूँजीलाई नेपालको आर्थिक तथा पूर्वाधार विकाससँग जोड्न धितोपत्र बोर्ड प्रतिबद्ध रहेको बताए। यसका लागि आवश्यक कानुनी तथा प्रक्रियागत सहजीकरण गरिने उनको भनाइ थियो।

छलफलका क्रममा एनआरएन प्रतिनिधिहरूले नेपाल सरकार र धितोपत्र बोर्डको पहलबाट लगानीमैत्री वातावरण बन्दै गएको भन्दै स्वागत गरेका थिए। उनीहरूले नेपाल सरकार र गैर-आवासीय नेपालीको संयुक्त लगानीमा स्थापना भएको ‘इन्भेष्टमेन्ट कम्पनी’ मार्फत प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने योजना रहेको जानकारी दिए।

उक्त कम्पनीले विदेशमा रहेका नेपाली तथा एनआरएनबाट साधारण शेयरमार्फत पूँजी संकलन गरी नेपालको भौतिक पूर्वाधार विकासका परियोजनामा लगानी गर्ने लक्ष्य राखेको जनाएको छ। साथै, भविष्यमा विशेष परियोजनाका लागि बण्ड तथा डिबेन्चर (ऋणपत्र) जारी गरेर थप पूँजी परिचालन गर्ने योजना पनि प्रस्तुत गरिएको छ।

एनआरएन प्रतिनिधिहरूले यी योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न विद्यमान कानुनी जटिलता हटाई आवश्यक नीतिगत तथा कानुनी सुधार गर्न धितोपत्र बोर्डसँग आग्रह गरेका छन्।

कार्यक्रममा धितोपत्र बोर्डका उच्च पदाधिकारी तथा गैर-आवासीय नेपालीका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

१४ श्रावण २०८३, बिहीबार ०७:१६ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०