काठमाडौं। नेपालसहित ५० देशका नागरिकका लागि अमेरिकी पर्यटक (बी–२) र व्यावसायिक (बी–१) भिसामा आवेदन दिँदा ठूलो रकम धरौटी राख्नुपर्ने नयाँ व्यवस्था लागू भएको छ। अमेरिकी विदेश मन्त्रालयले ‘भिसा बन्ड’ (Visa Bond) कार्यक्रमलाई स्थायी बनाउँदै अधिकतम २० हजार अमेरिकी डलरसम्म धरौटी राख्नुपर्ने व्यवस्था लागू गरेको हो।
हालको विनिमय दरअनुसार २० हजार अमेरिकी डलर करिब ३० लाख रुपैयाँभन्दा बढी बराबर हुन्छ। नयाँ नियमले विशेषगरी अमेरिका भ्रमण वा व्यावसायिक प्रयोजनका लागि बी–१ र बी–२ भिसा आवेदन दिने नेपाली नागरिकलाई प्रत्यक्ष असर पार्नेछ।
नयाँ व्यवस्थाअनुसार भिसा आवेदकले न्यूनतम १० हजार अमेरिकी डलरदेखि अधिकतम २० हजार अमेरिकी डलरसम्म धरौटी राख्नुपर्नेछ। भिसा अन्तर्वार्ताअघि नै तोकिएको रकम बुझाउनुपर्ने व्यवस्था गरिएको छ।
अमेरिकी सरकारले भिसा अस्वीकृत भएमा वा भिसा स्वीकृत भएर अमेरिका पुगेपछि सबै सर्त पालना गर्दै तोकिएको समयमै स्वदेश फर्किएमा धरौटी रकम फिर्ता गरिने जनाएको छ। तर, भिसाको अवधि सकिएपछि पनि अमेरिकामा गैरकानुनी रूपमा बसेमा (ओभरस्टे) उक्त धरौटी रकम जफत हुने व्यवस्था छ।
अमेरिकी विदेश मन्त्रालयका अनुसार भिसाको अवधि नाघेर बस्ने (ओभरस्टे) विदेशी नागरिकको संख्या घटाउने उद्देश्यले यो नीति लागू गरिएको हो। ट्रम्प प्रशासनका बेला परीक्षणका रूपमा सुरु गरिएको भिसा बन्ड कार्यक्रम प्रभावकारी देखिएपछि अहिले स्थायी बनाइएको जनाइएको छ।
यो नयाँ नियमबाट नेपाल, बंगलादेश र भुटानलगायत ५० देशका नागरिक प्रभावित हुनेछन्। अमेरिकी विदेश मन्त्रालयले आवश्यकताअनुसार भविष्यमा थप देशलाई पनि यस सूचीमा समावेश गर्न सकिने जनाएको छ।











