काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा आयोजना हुन लागेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को तयारी तीव्र पारिएको छ। एक्स्पो सुरु हुन एक दिन मात्रै बाँकी रहँदा विभिन्न अटोमोबाइल ब्रान्डहरू आफ्ना स्टल निर्माण तथा सजावटमा व्यस्त छन्।
प्रदर्शनीस्थलमा रातिसम्मै स्टल निर्माण, सजावट तथा अन्य व्यवस्थापनका काम भइरहेको छ। आयोजकका अनुसार एक्स्पोलाई व्यवस्थित र आकर्षक बनाउन अन्तिम चरणका तयारीलाई तीव्रता दिइएको हो।
नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा एक्स्पो साउन २६ गतेदेखि ३१ गतेसम्म भृकुटीमण्डपमा सञ्चालन हुनेछ।
यस वर्षको नाइमा मोबिलिटी एक्स्पोमा ४० भन्दा बढी नयाँ सवारीसाधन तथा उत्पादन सार्वजनिक गरिने आयोजकले जनाएको छ। एक्स्पो संयोजक गौरव शारदाका अनुसार प्रदर्शनीमा ५३ वटा ब्रान्डको सहभागिता रहनेछ।
नाइमा आयोजकका अनुसार एक्स्पो नेपालमा हालसम्मकै ठूलो र प्रभावकारी अटोमोबाइल प्रदर्शनी बन्ने अपेक्षा गरिएको छ। एक्स्पोमा नयाँ सवारीसाधन, विद्युतीय मोबिलिटी, अटोमोबाइल प्रविधि तथा अन्य सम्बन्धित उत्पादनबारे जानकारी लिन सकिनेछ।












