२५ श्रावण २०८३, सोमबार
Follow us :

स्वर्ण जयन्तीको अवसरमा नाडा अटो शोको १८औँ संस्करण भदौ ९ देखि

नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले आफ्नो स्वर्ण जयन्तीको अवसरमा नेपाली अटोमोबाइल क्षेत्रकै ठूलो तथा प्रतिष्ठित मेला ‘एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६’ आयोजना गर्ने भएको छ।

कान्तिपुर प्रेस

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले आफ्नो स्वर्ण जयन्तीको अवसरमा नेपाली अटोमोबाइल क्षेत्रकै ठूलो तथा प्रतिष्ठित मेला ‘एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६’ आयोजना गर्ने भएको छ।

आगामी भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी परिसरमा आयोजना हुने अटो शोको यो १८औँ संस्करण हो। आयोजकका अनुसार मेलाले अटोमोबाइल, आयल तथा पार्टपुर्जा व्यवसायीलाई उत्पादन तथा सेवाको प्रवर्द्धनका लागि महत्वपूर्ण व्यावसायिक प्लेटफर्म उपलब्ध गराउनेछ।

यस वर्षको अटो शोमा साना तथा ठूला गरी करिब २०० वटा स्टल रहनेछन्। प्रदर्शनीमा २२ ब्रान्डका पेसेन्जर कार, १६ ब्रान्डका लाइट कमर्सियल भेहिकल तथा १२ ब्रान्डका दुईपाङ्ग्रे सवारीसाधन सहभागी हुनेछन्।

त्यस्तै, ८ नेपाली उत्पादकसहित ६९ वटा कम्पोनेन्ट तथा अन्य सरोकारवाला व्यवसायीले आफ्ना उत्पादन र सेवा प्रदर्शन गर्ने आयोजकले जनाएको छ।

देशभरका अटो व्यवसायीहरूमा अटो शोप्रति उत्साह बढेको र स्टलका लागि मागसमेत उच्च रहेको नाडाले जनाएको छ। प्रदर्शनीस्थलमा पर्याप्त ठाउँको अभावका कारण इच्छुक सबै व्यवसायीलाई स्टल उपलब्ध गराउन कठिन भइरहेको आयोजकको भनाइ छ।

स्वदेशी उत्पादनसँगै विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डको सहभागिता रहने अटो शोले पछिल्लो समय सुस्ताएको नेपाली अटोमोबाइल बजारलाई पुनः चलायमान बनाउन महत्वपूर्ण योगदान गर्ने अपेक्षा गरिएको छ।

२५ श्रावण २०८३, सोमबार ११:३० मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०